झण्डै तीन किलो कोकिनसहित ३ विदेशी नागरिक पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

झण्डै तीन किलो कोकिनसहित ३ विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरीले २ किलो ९६६ ग्राम कोकिनसहित तीनजनालाई पक्राउ गरेको हाे । तान्जानियाका नागरिक गेर्तुदे लियोनार्ड किमारोलाई सिन्धुलीको खुर्कोटबाट र अन्‍य दुईजनालाई काठमाडौंबाट पक्राउ गरेको प्रहरीको लागू औषध नियन्त्रण ब्‍यूरोले आइतबार पत्रकार सम्‍मेलन गरेर जानकारी दिएको हो।

पक्राउ पर्नेमा दक्षिण अफ्रिकन नागरिक शिर्ले गामा, भारतीय नागरिक विजय सिंह रहेका छन् । पक्राउ परेका उनीहरुको साथबाट ९ करोड नेपाली रुपैयाँ बराबरको कोकिन बरामद गरेको ब्‍यूरोले बताएको छ ।

कतार एयरलाइन्सबाट आएका दक्षिण अफ्रिकी नागरिकले भारतीय नागरिकलाई उक्त कोकिन दिन लागेको भन्‍ने सूचनाको आधारमा पक्राउ गरिएको ब्‍यूरोले जनाएको छ। पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।