सत्तारुढ गठबन्धनलाई नै गलपासो बन्दै अध्यादेश, जसपा फेरि फुटको संघारमा !


न्युज अफ नेपाल, काठमाडौं ।

दल विभाजनसम्बन्धी अध्यादेशका कारण सत्तारुढ दल जनता समाजवादी पार्टीमा फेरि फुटको सम्भावना देखिएको छ । सरकारले पार्टी केन्द्रीय कमिटी वा संसदीय दलमा २० प्रतिशत संख्या भए पार्टी विभाजन गर्न सकिने खुकुलो कानुन ल्याएसँगै जसपामा पार्टी फुट्ने खतरा बढेको स्रोतले बताएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको झण्डै डेढ महिनासम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । सत्तारुढ दलभित्रको अन्यौलका कारण क्याबिनेट विस्तारमा समस्या देखिएको हो । यद्यपि मन्त्रिपरिषद विस्तारका सम्बन्धमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री देउवाबीच शनिबार छलफल भएको थियो ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि आफूहरु चाँडै सरकारमा सहभागी हुने बताइसेकका छन् । यता, जसपा अध्यक्ष उपेन्द्र यादवले पनि केही दिनमा सरकारमा जान ढिला नहुने बताइरहेका छन् । तर गठबन्धनकै दलहरुले सरकारमा जाने मन्त्रीहरुको नाम भने टुङ्ग्याउन सकिरहेका छैनन् । यसको मुख्य कारण पार्टीभित्र देखिने आन्तरिक असन्तुष्टि रहेको छ । पार्टी भित्र मन्त्रीका आकांक्षी धेरै भएका कारण मन्त्री क–कसलाई बनाउने भन्ने टुंगो लाग्न नसकेको देखिन्छ ।

जसपा विभाजन गरेर लोकतान्त्रिक समाजवादी पार्टी नामक नयाँ पार्टी गठन गरेका महन्थ ठाकुर पक्षले पनि सरकारलाई समर्थन गरेको छ । महन्थ नेतृत्वको लोसपा समेत सरकारमा जान इच्छुक देखिएको छ । यदि अहिले सरकारले ल्याएको अध्यादेश कायम रहेको खण्डमा मन्त्रीहरुको टुंगो लगाउँदा पार्टीभित्र असन्तुष्टि देखिर फेरि चिरा पर्न सक्ने शिर्ष नेतृत्वको आशंका छ ।

यही आशंकाका कारण दलविभाजनसम्बन्धी अध्यादेश फिर्ता गरेर मात्र मन्त्रिपरिषद विस्तार गर्ने मनस्थितिमा गठबन्धनका शिर्ष नेताहरु देखिएका छन् । सांसदहरुले स्वार्थका लागि दल त्याग गर्ने देखि दल विभाजनसम्म गर्न सक्ने आँकलन गरेरै उनीहरु सशंकित बनेको देखिन्छ ।

सत्तारुढ गठबन्धनमा उपेन्द्र नेतृत्वको जसपालाई ५ मन्त्रालय दिने सहमति भएको छ । तर, जसपाका सबैजसो सांसद मन्त्रीका आकांक्षी छन् । त्यसो त जसपाको केहीदिन अघि आयोजित केन्द्रीय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवको कुर्सीलाई लिएर नेताहरुबीच लफडा भएको थियो ।