हैजाविरुद्धको खोपको ‘क्लिनिकल ट्रायल’ हुने


नेपाल समाचारपत्र, काठमाडौं ।

नेपालमा मुखबाट खुवाइने हैजाविरुद्धको खोपको क्लिनिकल ट्रायल गर्ने प्रक्रिया अघि बढेको छ । प्रक्रिया पूरा भएपछि कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अनुसन्धान गरिने भएको छ ।

स्वास्थ्य मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सिफारिसमा नेपालमा हैजाविरुद्ध खोपको क्लिनिकल ट्रायल गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको हो । कानुन न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिएको जानकारीअनुसार अनुसन्धान शुरु गर्न स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभागलगायत सम्बन्धित निकायबाट केही प्रक्रिया पूरा गर्न बाँकी छ ।

हैजा भनेको धेरै मानिसको ज्यान लिने कडा किसिमको झाडापखाला हो । यो अति कम विकसित मुलुकहरूमा बढी फैलने गरेको छ । विल गेट्स फाउन्डेसनको अनुदानमा नेपालमा हुन लागेको हैजाविरुद्धको खोपको क्लिनिकल ट्रायलको नेतृत्व भने अन्तर्राष्ट्रिय भ्याक्सिन इन्स्टिच्युट कोरियाले गर्ने बताइएको छ ।

हैजाले विश्वको ४७ देश प्रभावित छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो रोगबाट विश्वमा वर्षेनी २९ लाख मानिस प्रभावित हुने र ९६ हजार मानिसको मृत्यु हुने अनुमान गरिएको छ । सन् २०१७ मा विश्व स्वास्थ्य संगठनको ग्लोबल टाक्स फोर्स अन कलेरा कन्ट्रोलले सन् २०३० सम्ममा हैजालाई निर्मुल पार्ने रोडम्याप बनाएको थियो ।

हैजा हटाउने प्रमुख उपाय स्वच्छ पानी र सरसफाइ हो तर निर्मूल नै पार्न भने अति कम विकसित मुलुकमा खोप पनि दिनुपर्ने विश्व स्वास्थ्य संगठनको ठम्याइ छ । नेपालको सन्दर्भमा नेपाल सरकारले सन् २०२२ सम्म हैजा नियन्त्रण गर्ने नीति लिएको छ ।

विश्व स्वास्थ्य संगठनको अनुुसार सन् २०३० सम्म विश्वबाट हैजा उन्मूलन गर्ने हो भने ६७ करोड मात्रा खोप आवश्यक पर्छ । विश्वमा अहिले वार्षिक २ करोड ९० लाख मात्रा खोप मात्र उत्पादन भइरहेको छ । जसमा भारतको इन्टिच्युट अफ शान्ता बायोटेकले ४० लाख मात्रा खोप उत्पादन गर्छ भने कोरियाको एक कम्पनीले वार्षिक २ करोड ५० लाख मात्रा खोप उत्पादन गर्छ ।

यो खोपको अनुमानित मूल्य प्रति मात्रा २ अमेरिकी डलर रहेको छ । गरिब मुलुकलाई २ डलर महँगो भएकाले सस्तोमा खोप उत्पादन गर्न सकिन्छ कि भनेर नेपालमा क्लिनिकल ट्रायल गर्न लागिएको हो । अहिले चलनचल्तीमा भएको खोपलाई बनाउने तत्वको थपघट र बनाउने तरिकालाई पनि सरलीकृत गरे प्रशस्त मात्रामा मूल्य घटाउन सकिने विश्वास लिइएको छ ।

नेपालमा अनुसन्धान सफल भएमा नेपाललाई धेरै फाइदा हुने देखिएको छ । नेपाल हैजाको जोखिम क्षेत्र हो । जोखिम भएको देशमा हैजाको खोप बढी चाहिन्छ । विश्वमा खोपको उत्पादन कम भएको सन्दर्भमा यो अनुसन्धान सफल भए खोपको उत्पादन पनि बढ्ने र सस्तोका कारणले दातृ निकायले पनि अहिलेकै रकमले धेरै खोप उपलब्ध गराउन सक्ने भएकाले खोपको उपलब्धता पनि बढ्ने छ ।

अनुसन्धानमा संलग्न रहेका एक चिकित्सकका अनुसार हैजाविरुद्धको खोप ठाउँ, जात, क्षेत्रअनुसार कम वा बढी प्रभावकारी हुन्छ । नेपालमा गरिने अनुसन्धान सफल भएमा हाम्रो देशमा खोपले प्रभावकारी काम गर्नेमा विश्वस्त हुनेछ । नेपालमा क्लिनिकल ट्रायल गर्नाले विज्ञानको क्षेत्रमा विश्वमा नेपालको संलग्नता बढाउनुका साथै अनुसन्धान प्रक्रियामा भाग लिने नेपाली जनशक्तिको तथा अनुसन्धान गर्ने स्वास्थ्य संस्थाहरूको क्षमतामा पनि अभिवृद्धि हुने विश्वास लिइएको छ ।