फोहोर व्यवस्थापनका लागि वैकल्पिक स्थान खोजिँदै


ईश्वरराज ढकाल, काठमाडौं ।

उपत्यकाको फोहोर व्यवस्थापन कार्यमा समस्या भएपछि काठमाडौं र ललितपुर महानगरपालिकाले केही समयका लागि वैकल्पिक स्थानको खोजी गर्दै छ । केही सातादेखि दैनिकरूपमा विभिन्न स्थानको अवलोकन गरिरहेको काठमाडौं महानगर ललितपुर महानगरको पहलमा शनिबार धापाखेल पुगेको थियो ।

टोलीले सो स्थानमा करिब दुई सातासम्म फोहोर विसर्जन गर्न मिल्ने गरी वैकल्पिक स्थान तय गर्न सकिने निष्कर्ष निकालेको छ । केही दिनअघि कामपाले चन्द्रगिरि नगरपालिकास्थित थानकोटमा वैकिल्पक स्थान खोजी गरेको थियो ।

थानकोटको स्थानीयसँग छलफल शुरु गरेको कामपाले थप गृहकार्य शुरु गरेको छ । कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठले विभिन्न स्थानमा वैकल्पिक क्षेत्रकोे खोजी गरेपछि स्थानीयको अवरोध हुने गरेको बताउँदै भन्नुभयो– ‘हामीले छोटो समयका लागि आग्रह गर्दा पनि स्थानीयले मानिरहेका छैनन् । दुई महानगरले वञ्चरेडाँडा ल्यान्डफिल साइटको बाटो नबनेसम्म वैकल्पिक क्षेत्रमा फोहोर व्यवस्थापन गर्न उपत्यकाको विभिन्न स्थान घुमफिर गरिरहेको छ ।’

राजधानीको सडकमा करिब ५ सय टन फोहोर थुप्रिएको छ । सिसडोल ल्यान्डफिल साइटमा फोहोर विसर्जन गर्न कठिन भएपछि राजधानीको फोहोर सडकमै थुप्रिएको हो ।

बाटोको समस्याका कारण सिसडोल ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन गर्न नसकेपछि बाटोमै फोहोर थुप्रिएको हो । सडकमा थुप्रिएको बाहेक टेकुस्थित स्यानिटरी ल्यान्डफिल साइटमा करिब २ हजार टन फोहोर थुप्रिएको छ । सडक गल्ली र टेकु ट्रान्सफर स्टेसनमा गरी करिब ५ हजार टन फोहोर थुप्रिएको छ । यो तथ्यांक काठमाडौं र ललितपुर महानगरपालिका क्षेत्रको हो ।

कोरोना कहरले थला पारेको राजधानीको जनजीवन सडक गल्लीमा थुप्रिएको फोहोरका कारण फेरि कठिन बनेको छ । चाडबाडहरू पनि नजिकै आउँदै गर्दा सडक गल्लीमा थुप्रिएको फोहोरले झाडापखालालगायत पानीजन्य संक्रमणको महामारी फैलिन सक्ने चिकित्सकहरूको चेतावनी छ ।

फोहोर व्यवस्थापनका लागि सरकारसँग गुहार मागिरहेको कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरिकुमार श्रेष्ठ सबैतिरबाट सहयोग भए मात्र फोहोर व्यवस्थापन गर्न सम्भव हुने बताउनुहुन्छ ।

फोहोरको दीर्घकालीन व्यवस्थापन गर्न वञ्चरेडाँडा ल्यान्डफिल साइट निर्माणको जिम्मा लिएको शहरी विकास तथा भवन निर्माण विभागले मनपरी गरेको कारण फोहोर व्यवस्थापनमा समस्या भएको हो । कामपाको मात्रै होइन उपत्यकाका १८ सहित २० स्थानीय तहको फोहोर व्यवस्थापनमा गम्भीर समस्या आएको विभाग प्रमुख श्रेष्ठले भनाइ छ । उहाँले भन्नुभयो– ‘ल्यान्डफिल साइट निर्माण गर्ने जिम्मा लिएको निकायको मनपरीका कारण समस्या भएको हो । कामपा एक्लैले फोहोर व्यवस्थापनको जिम्मा लिँदा पनि समस्या परेको हो ।’

लगातार वर्षाका कारण फोहोर व्यवस्थापनमा समस्या भएको सबै स्थानीय निकायको भनाइ छ । फोहोर व्यवथापनमा समस्या देखिएपछि कामपका मेयर विद्यासुन्दर शाक्यले प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र पठाउनुभएको थियो ।

मेयरको पत्र प्राप्त भएको भोलिपल्टै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरोकारवाला निकायसँग छलफल गरेको थियो ।

शहरी विकास विभागले प्रत्येक बैठकमा चाँडै काम सकाउँछौं भन्दै ढाँट्ने गरेका कारण समस्या परेको सबैको ठम्याइ छ । वञ्चरेडाँडा ल्यान्डफिल साइटका साइट इन्चार्जको कमजोरीका कारण समस्या देखिएको भन्दै उनीहरूले कार्यालयमै बसेर वञ्चरेमा काम गराउने प्रवृत्तिका कारण समस्या आएको टिप्पणी गरेका छन् ।

उपत्यकालगायत काभ्रे, धादिङ र नुवाकोटका समेत गरी २० स्थानीय तहको फोहोर व्यवस्थापन हुने सिसडोलमा करिब तीन सातादेखि फोहोर विसर्जन गर्न सकिएको छैन ।

फोहोरको डंगुरबाटै बाटो बनाउने र डोजरको सहायताले सवारीसाधन ठेलेर फोहोर विसर्जन गर्ने स्थानसम्म पु¥याउनुपर्ने अवस्थाले गर्दा उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या आएको हो ।