कांग्रेस अधिवेशन: क्रियाशील सदस्यको सूची सार्वजनिक भएसँगै जिल्ला खटिए निर्वाचन अधिकृत

नेतृत्व लिन अघि बढें : निधि


रामकृष्ण चपागार्ईं, काठमाडौं ।

महाधिवेशन कार्यतालिकाअनुसार भदौ १८ गतेदेखि तल्लो तहको अधिवेशन शुरू गर्न सत्ताधारी दल नेपाली कांग्रेसभित्रको लामो रस्साकस्सीपछि क्रियाशील सदस्य सार्वजनिक भएको छ भने जिल्ला–जिल्लामा निर्वाचन अधिकृत पनि खटाउन थालेको छ । साथै निर्वाचन अधिकृत खटाएको जिल्लाको क्रियाशील सदस्यको सूची पनि सार्वजनिक गर्न थालेको छ ।

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिएअनुसार अधिवेशनका लागि ४८ जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक भइसकेको छ भने बाँकी जिल्लाको सूची पनि सार्वजनिक गर्ने कार्य भइरहेको छ । शनिबारसम्म ४८ वटै जिल्लामा निर्वाचन अधिकृत पनि खटाइएको छ । बाँकी जिल्लामा पनि भोलि सोमबारसम्म निर्वाचन अधिकृत खटाइने निर्वाचन समितिले जानकारी दिएको छ ।

निर्वाचन अधिकृतहरुलाई नियुक्तिपत्रका साथै निर्वाचन निर्देशिका, क्रियाशील सदस्यको सूचीलगायत आवश्यक निर्वाचन सामग्रीसहित पठाइएको छ । पहिलो चरणमा खटाइएको जिल्ला निर्वाचन अधिकृत अधिकांश कानुन व्यवसायी छन् ।

निर्वाचन अधिकृत भएर खोटाङ जिल्ला खटिएका विकास भट्टराईले जानकारी दिएअनुसार निर्वाचन अधिकृतले जिल्ला गएर प्रत्येक आवश्यक वडामा मतदान अधिकृत तोक्नुपर्छ । डेमोक्रेटिक लयर्स एसोसियसन (डीएलए) का सदस्य शिक्षक संघका प्रतिनिधिलगायतलाई वडा अधिवेशनका लागि मतदान अधिकृत तोकी प्रत्येक वडामा खटाउने काम पनि जिल्ला निर्वाचन अधिकृतकै रहेको छ । केन्द्रीय निर्वाचन समितिको निर्देशनअनुसार वडा अधिवेशन सम्पन्न भएपछि गाउँ/नगर, क्षेत्र र जिल्ला अधिवेशन गर्ने जिम्मेवारी पनि जिल्ला निर्वाचन अधिकृतको छ ।

महाधिवेशनकै विषयलाई लिएर कांग्रेसभित्र आन्तरिक विवाद बढ्दै गएको थियो । महाधिवेशन नजिकिँदा समेत क्रियाशील सदस्यको सूची सार्वजनिक नगरेको भन्दै जिल्ला सभापतिहरु आन्दोलित थिए भने तोकिएको समयमा अधिवेशन शुरु हुन्छ कि हुँदैन भन्ने अन्योल पनि थियो । खास गरी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले नेतृत्वप्रति विभिन्न आरोप लगाउँदै १८ गतेदेखि महाधिवेशन शुरु हुने कुरामा शंका व्यक्त गरिरहेका थिए । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच विवाद समाधान गरी अघि बढ्ने सहमति भएपछि महाधिवेशनको वातावरण थप उत्साहका साथ अघि बढेको छ ।

पौडेल पक्षका नेता प्रकाशमान सिंहले जानकारी दिएअनुसार क्रियाशील सदस्यता विवाद समाधान गर्दै सूची सार्वजनिक गर्दै जाने जिल्ला सभापतिहरुको मागबमोजिम निर्वाचन निर्देशिका संशोधन गरिने सहमति भएपछि अधिवेशनको वातावण थप उत्साहका साथ अधि बढेको हो । ‘अब पार्टीभित्र नयाँ उत्साहका साथ अधिवेशनमा केन्द्रित हुने वातावरण बनेको छ, सबैलाई अधिवेशनमा केन्द्रित रहन आग्रह गर्दछु ।’ –नेता सिंहले भन्नुभएको छ ।

मंसिर ९ देखि १३ गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका बनाएको कांग्रेसको तल्लो तहको अधिवेशनअन्तर्गत १८ गते वडा अधिवेशन हुँदै छ । कांग्रेसले भदौ २७ मा गाउँ/नगर अधिवेशन गर्दै छ भने असोज १ मा प्रदेशसभा क्षेत्रीय अधिवेशन गर्न लागेको छ । कार्यतालिका अनुसार प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते र एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते हुँदै छ । प्रदेश अधिवेशन भने १० देखि १२ गतेसम्म सम्पन्न गर्ने कार्यतालिका छ ।

नेतृत्व लिन अघि बढें : निधि

कांग्रेस उपसभापति विमलेन्द्र निधिले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गर्दै आफ्नो तयारी अघि बढाउनुभएको छ । उपसभापति निधि नेतृत्वको दाबी गर्दै अघि बढेपछि पुनः नेतृत्व दोहो¥याउन चाहेका सभापति शेरबहादुर देउवा अप्ठेरोमा पर्नुभएको छ ।
देउवा समूहभित्रका प्रभावशाली नेता निधिले सभापतिको उम्मेदवारी दिने घोषणा गर्दै शुक्रबारदेखि काठमाडौंको बानेश्वरस्थित बानेश्वर बैंकेटमा सम्पर्क कार्यालय राखेर प्रचारप्रसारलाई तीव्रता दिन थाल्नुभएको छ । मेरो उम्मेदवारी आगामी आम निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउन भएको भन्दै निधिले भन्नुभयो– ‘कांग्रेसलाई आन्तरिकरूपमा पनि गुटभन्दा माथि उठाएर एकढिक्का बनाउनु जरुरी छ ।’
पशुपतिनाथलगायत विभिन्न मन्दिरका पुजारी ल्याएर पूजापाठ गरी सम्पर्क कार्यालय खोलेका निधिले १४औं महाधिवेशनमा आफ्नो सभापतिको उम्मेदवारी अन्य नेतालाई पराजित गर्न नभई कांग्रेसलाई एकढिक्का बनाउन रहेको बताउनुभएको थियो ।

१३औं महाधिवेशनमा देउवालाई सभापति बनाउन महत्वपूर्ण भूमिका निभाउनुभएका निधिलाई अहिलेसम्म देउवाको साथ भने छैन । सभापति देउवा स्वयं फेरि नेतृत्व हत्याउने रणनीतिमा हुनुहुन्छ । निधिसँगै देउवा गुटकै प्रभावशाली नेताहरु ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउदलगायत बाहिरिने भएपछि देउवालाई १४औं महाधिवेशनमा आफ्नो पक्षमा समीकरण बनाउन निकै सकस हुने देखिएको छ ।

१४औं अधिवेशनमा कांग्रेसभित्र मुख्य गरी तीन गुट क्रियाशील छ । एउटा संस्थापन पक्ष अथवा देउवा पक्ष । दोस्रो वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र तेस्रो नेता कृष्णप्रसाद सिटौला पक्ष । तीन गुटमध्ये सबैभन्दा बलियो रहेको संस्थापन पक्ष विभाजित भएसँगै पौडेल पक्ष बलियो रूपमा अघि बढ्ने देखिन्छ ।

तर, पौडेल पक्षभित्र सभापतिको आकांक्षी धेरै छन् । पौडेल स्वयं सभापतिका आकांक्षी हुनुहुन्छ भने महामन्त्री डा. शशांक कोइराला, केन्द्रीय सदस्य डा. शेखर कोइराला पनि नेतृत्वका प्रमुख दाबेदार हुनुहुन्छ । १३औं महाधिवेशनमा पनि सभापतिका उम्मेदवार भएका सिटौलाले पनि अहिले सम्म १४औं महाधिवेशनमा आफ्नो दाबी छोड्नुभएको छैन ।

निधिले पौडेल पक्षलाई पनि फुटाएर आफ्नो पक्षमा ल्याउने रणनीति बनाइरहे पनि अहिलेसम्म त्यो सफल भएको छैन । अहिलेकै समीकरण रहे पनि महाधिवेशनमा पौडेल पक्षको मत विभाजन हुने निधि समूहका नेता बताउँछन् । यसअघि पौडेल पक्षका नेताहरुसँगको छलफलमा सहमतिमै एकमात्र उम्मेदवार बनाउने भन्दै आएका निधिले सभापति देउवालाई पनि आफूलाई सहयोग गर्न पटक–पटक आग्रह गर्नुभएको थियो ।

कांग्रेसका अन्य शीर्ष नेताहरुले पनि आ–आफ्नो सम्पर्क कार्यालयमा नेतृत्व हत्याउने रणनीतिका साथ गतिविधि अघि बढाइरहेका छन् । सिटौलाले गौशालामा, महामन्त्री डा. कोइरालाले महाराजगञ्जमा, वरिष्ठ नेता पौडेलले अनामनगरमा, पूर्वमहामन्त्री प्रकाशमान सिंहले बानेश्वरमा तथा केन्द्रीय सदस्य डा. शेखर कोइरालाले अनामनगर र विशालनगरमा सम्पर्क कार्यालय राखेर गतिविधि अघि बढाइरहेका छन् ।