प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरण अब अनलाइनमार्फत

4.6k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

तपाई प्रहरी प्रतिवेदन प्रमाणपत्र (Police Clearance Certificates) को प्रमाणीकरण गर्न परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभाग जाँदै हुनुहुन्छ भने नजानुहोस् । कन्सुलर विभागले यही आइतबार अर्थात भदौं १३ गतेदेखि प्रहरी प्रतिवेदन प्रमाणपत्रको प्रमाणीकरण पूर्णतया अनलाइन प्रविधिबाट मात्रै गर्ने भएको छ । हुन त गत जेठ १६ गतेको परराष्ट्र मन्त्रीस्तरिय निर्णयअनुरुप विभागले यो सेवालाई जेठ २० गतेबाट नै अनलाइन प्रविधीमा लगेको हो तर अबदेखि भने यसलाई पूर्णरुपमा कार्यान्वयन गरिने भएको छ ।

विभागले शुक्रबार पत्रकार सम्मेलन गरी अबदेखि यस्तो सेवा अनलाइनबाट मात्रै दिने जानकारी दिएको हो । दैनिक २ हजारभन्दा बढी सेवाग्राहीको भीड लाग्ने गरेको विभागमा भीड कम गर्ने उद्देश्यले पहिलो चरणमा प्रहरी प्रतिवेदनको प्रमाणीकरण गर्ने काम पूर्णतया अनलाइनबाट गर्न लागिएको हो ।

तथापी यसले कन्सुलर सेवालाई छिटो, छरितो, प्रभावकारी र सेवाग्राही अनुकुल बनाउने कन्सुलर सेवा विभागका महानिर्देशक धनबहादुर ओलीले बताउनुभयो । उहाँले यो व्यवस्थामा प्रहरी कार्यालयले जारी गरेको प्रमाणपत्रको दर्ता नम्बर अनलाइन प्रणालीमा राख्ने बित्तिकै आफैं अपलोड हुने र प्रमाणपत्रको आधिकारिकता अनलाइनबाटै बुझ्न सकिने भएकोले फर्जी काममा आफैं अंकुश लाग्ने बताउनुभयो ।

प्रहरी कार्यालयले २०७६ साल असोज २४ गतेबाटै प्रहरी प्रतिवेदन प्रमाणपत्र दिने कार्यलाई अनलाइन गरेको सन्दर्भमा कन्सुलर विभागले पनि आफ्ना सेवाहरूलाई अनलाइन गर्ने क्रममा पहिलो चरणमा प्रहरी प्रतिवेदनको प्रमाणीकरणलाई नै चयन गरेको हो ।

अनलाइनमार्फत प्रहरी प्रतिवेदन प्रमाणीकरण गर्नका लागि कन्सुलर सेवा विभागको वेबसाइट https://nepalconsular.gov.np वा https://att.nepalconsular.gov.np मा गएर अनलाइन एप्लिकेसन फर पुलिस क्लियरेन्स सर्टिफिकेटमा क्लिक गरेर अनलाइन आवेदन भर्नुपर्नेछ ।

भरिएको फारम स्वीकृत भएपछि सेवाग्राहीले आफ्नो मोबाइलमा एसएमएसमार्फत फारम स्वीकृत भएको जानकारी पाउनेछन् । त्यसपछि सोही वेबसाइटको अनलाइन पेमेन्टमा गई एसएमएसमा प्राप्त भएको रिफ्रेन्स नम्बर र आफ्नो मोबाइल नम्बर राखेर कनेक्ट आइपीएसमार्फत वा अन्य कुनै डिजिटल वालेट वा भौचर प्रिन्ट गरी ग्लोबल आइएमइ बैंकको कुनै पनि शाखामा राजश्व दाखिला गर्नुपर्नेछ ।

अन्तिम चरणमा राजश्व दाखिला गरेको भौचर र आफैंले प्रिन्ट गरेको प्रहरी प्रतिवेदनको रंगिन प्रति लिएर विभागमा आफैं वा आफूले निवेदनमा तोकेको व्यक्ति गएर कागजात लिन सक्नेछ । बिभागमा अनुसार एकजना व्यक्तिले पाँच जनासम्मको कागजात लिइदिन सक्नेछ ।

विभागले दोस्रो चरणमा एक महिनाभित्रै विद्यार्थीको प्रमाणपत्र प्रमाणीकरणलाई पनि अनलाइन गर्ने योजना बनाएको छ । त्यसैगरी १–२ महिनामा व्यापारिक प्रयोजनका लागि वित्तिय प्रतिवेदनहरूको प्रमाणीकरण पनि अनलाइनबाटै गरिने गृहकार्य भैरहेको कन्सुलर विभागले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।