मादागास्कारका जनता किरा फट्याङ्ग्रा खान बाध्य



अन्तानानारिभो ।

संयुक्त राष्ट्र संघले जलवायु परिवर्तनका कारण सिर्जित खडेरीको प्रकोप झेल्ने मादागास्कार विश्वको पहिलो मुलुक भएको जनाएको छ । विगत चार वर्षदेखि वर्षा नभएको यस मुलुकमा दशौं हजार मानिस भोकमरी र खाद्यान्न असुरक्षाको भयावह स्थितिबाट गुज्रिरहेको छ । चार दशक लामो इतिहासकै सबैभन्दा खराब यस खडेरीका कारण मुलुकको दक्षिणी भागका समुदायहरू किरा फट्याङ्ग्रा खाएर बाँच्न बाध्य भएका छन् ।

संयुक्त राष्ट्र संघको विश्व खाद्यान्न कार्यक्रम (डब्ल्यूएफपी)का अधिकारी सेल्ली थाकरालले त्यहाँको नाजुक मानवीय समस्या कुनै द्वन्द्वका कारण नभई जलवायु परिवर्तनको परिणाम भएको बताएकी छन् । संयुक्त राष्ट्र संघका अनुसार हाल मादागास्कारका करिब ३० हजार मानिस अन्तर्राष्ट्रियरूपमा सबैभन्दा खतरनाक खाद्यान्न अभाव असुरक्षाबाट ग्रस्त रहेका छन् ।

उनले भनेकी छन्– ‘यो अप्रत्यासित घटना हो । यी मानिसहरूले जलवायु परिवर्तनका लागि केही पनि दोषपूर्ण काम गरेका छैनन् ।’ हालै मात्र एम्बोसारी जिल्लाको विकट गाउँ फान्दिओभा पुगेका डब्ल्यूएफपीको टोलीलाई त्यहाँका बासिन्दाले प्रत्यक्षरूपमै फट्याङ्ग्रा खाइरहेको दृश्य देखाएका थिए ।

‘तामारिया’ नामक स्थानीय एक चार सन्तानकी आमाले भनेकी छन्– ‘म सकेसम्म किराहरू पनि खानु अगाडि राम्ररी धुने गर्दछु । तर, पानीको पनि त्यतिकै हाहाकार छ । मैले र मेरा सन्तानले विगत आठ महिनादेखि हरेक दिन यस्तै किरा फट्याङ्ग्रा खाँदै आएका छौं ।’

त्यसैगरी, सुख्खा जमिनमा बसिरहेकी ‘बोले’ नामक अर्की तीन सन्तानकी आमाले त्यो दिन खान केही नभएकाले काँडे बिरुवाको पात खान लागेको बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्