विधायकलाई बलात्कारको आरोप लगाउने महिलाद्वारा आत्महत्या



नयाँदिल्ली ।

एकजना भारतीय विधायकमाथि बलात्कारको आरोप लगाएकै कारण ती विधायककै मिलामतोमा प्रहरी र न्यायालयबाट समेत निरुत्साहित पारिएकाले अन्ततः एक २४ वर्षीया महिला आत्मदाह गरेर मृत्युवरण गर्न बाध्य भएको घटनाले भारतमा महिलामाथि हुने गरेको उत्पीडन एकपटक पुनः दुनियाँ सामु उजागर भएको छ ।

ती पीडित महिला र उनका एक पुरुष साथीले १६ अगस्टमा फेसबुक लाइभमार्फत आफूहरूमाथि पेट्रोल छर्केर आगोे लगाएका थिए ।

शरीरका सम्पूर्ण भाग नराम्ररी जलेका अवस्थामा ती दुवैलाई अस्पताल पुर्‍याइएको थियो । तिनीहरू सामूहिक आत्महत्याका लागि नै हिँडेरै उत्तरी राज्य उत्तर प्रदेशबाट राजधानी दिल्ली पुगेका थिए । ती दुवैको मंगलबार बेलुका मृत्यु भएको हो ।

आफ्नो दुःख र पीडा एवं विवशताप्रति मुलुककै ध्यान तान्ने उद्देश्यले तिनीहरूले भारतको सर्वोच्च अदालतसामु गरेको आत्महत्या प्रयासले सबैलाई स्तब्ध बनाएको छ ।

ती नाम नखुलाइएकी युवतीले वाराणसीस्थित आफ्नै निवासमा क्षेत्रीय बहुजन समाज पार्टी (बीएसपी)का विधायक अतुल रायले बलात्कार गरेको भन्दै सन् २०१९ को मे महिनामा प्रहरीसमक्ष उजुरी दर्ता गराएकी थिइन् ।

आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका रायलाई एक महिनापछि गिरफ्तार गरिएको थियो । उनी विगत दुई वर्षदेखि कारागारमा थुनिएका थिए । तर, गत नोभेम्बरमा रायका दाजुले उनीविरुद्ध ती महिलाले झुठो आरोप लगाएको उजुरी दर्ता गराए ।

ती महिलाले आफूलाई झुठो आरोप लगाएको बताएकी थिइन् । तर, यसै महिनाको शुरूमा उनलाई जमानत मन्जुर नहुने गरी पक्राउ पुर्जी जारी गरिएको थियो ।

फेसबुक लाइभमा ती महिलाले विधायकले आफ्नो शक्ति प्रयोग गरी आफूलाई दमन गराएको बताएकी छिन् । साथै, उनी र उनका साथीले रायसँग मिलोमतो रहेको भन्दै एक न्यायाधीशलगायत थुप्रै प्रहरीको नाम उल्लेख गरेका थिए ।

राज्य सरकारले यस सम्बन्धमा दुई जना अधिकारीलाई निलम्बन गर्दै अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्