पर्वतका स्थानीय तहको पौने १० करोड बेरुजु


नेपाल समाचारपत्र, पर्वत ।

पर्वतका सातवटा स्थानीय तहमा पौने १० करोड रुपियाँ बेरुजु देखिएको छ । पर्वतका दुई नगरपालिका र पाँच गाउँपालिकासहित सात स्थानीय तहमा ९ करोड ७५ लाख ९१ हजार रुपियाँ बेरुजु देखिएको हो ।

महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदनअनुसार पर्वतका सात वटा पालिकाको ६ अर्ब ७९ करोड ५० लाख २० हजार बजेटको लेखापरीक्षण गर्दा १ दशमलव २४ प्रतिशत बेरुजु देखिएको हो । महालेखाको प्रतिवेदनअनुसार पर्वतमा सबैभन्दा धेरै बेरुजु कुस्मा नगरपालिकाको देखिएको छ भने सबैभन्दा कम पैंयु गाउँपालिकामा देखिएको छ । कुस्मा नगरपालिकामा १ अर्ब ६३ करोड ४८ लाख ८४ हजारको लेखापरीक्षण गर्दा ५ करोड २३ लाख ५८ हजार बेरुजु देखिएको छ । कुस्माको बेरुजु प्रतिशत ३ दशमलव २० प्रतिशत देखिएको छ ।

त्यसैगरी फलेवास नगरपालिकामा १ अर्ब ३४ करोड १८ लाख ३८ हजारको लेखापरीक्षण गर्दा १ करोड ४५ लाख २२ हजार बेरुजु देखिएको छ । फलेबासको बेरुजु प्रतिशत १ दशमलव शून्य ८ प्रतिशत छ । पर्वतमा सबैभन्दा कम बेरुजु पैयुँ गाउँपालिकामा रहेको छ । पैंयुमा ६६ करोड ६९ लाख ४५ हजार रुपियाँको लेखापरीक्षण गर्दा २१ लाख १२ हजार मात्र बेरुजु देखिएको छ । पैयँुको बेरुजु प्रतिशत शून्य दशमलव ३२ प्रतिशत छ। पर्वतमा पैयुँपछि मोदी गाउँपालिकामा कम बेरुजु देखिएको छ । मोदीमा १ अर्ब ३ करोड १९ लाख ९१ हजारको लेखा परिक्षण गर्दा ३८ लख ९३ हजार बेरुजु देखिएको छ । मोदीको बेरुजु शून्य दशमलव ३८ प्रतिशत छ । महाशिला गाउँपालिकामा बेरुजुको प्रतिशत शून्य दशमलव ४८ प्रतिशत छ । महाशिलामा ६२ करोड ३० लाख ६ हजारको लेखापरीक्षण गर्दा २९ लाख ८४ हजार बेरुजु देखिएको हो ।

यस्तै बिहादी गाउँपालिकाको बेरुजु प्रतिशत २ दशमलव १२ प्रतिशत छ । बिहादीमा ५५ करोड ६९ लाख ९२ हजार रुपियाँको लेखापरीक्षण गर्दा १ करोड १७ लाख ९६ हजार बेरुजु देखिएको छ । जलजला गाउँपालिकामा १ दशमलव शून्य ६ प्रतिशत बेरुजु देखिएको छ । जलजलामा ९३ करोड ६८ लाख ४६ हजार रुपियाँको लेखापरीक्षण गर्दा ९९ लाख २६ हजार बेरुजु देखिएको छ ।

महालेखापरीक्षकले सार्वजनिक गरेको प्रतिवेदनमा जिल्लाका सम्पूर्ण पालिकाहरुमा गत आर्थिक वर्षको तुलनामा बेरुजु घटेको देखिएको छ । देशभरका स्थानीय तहको औसत बेरुजु प्रतिशत ५ रहेको छ ।