जलवायु परिवर्तनका असरलाई न्यूनीकरणमा जोड


काठमाडौं, (नेस)।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनका असरलाई केन्द्रमा राखेर पूर्वानुमान तथा अनुसन्धानमा केन्द्रित हुन आग्रह गर्नुभएको छ । जल तथा मौसम विज्ञान विभागको निरीक्षण गर्ने क्रममा उहाँले समान उद्देश्य रहेका संस्थाहरूसँग सहकार्य गर्दै आफ्ना कार्य सम्पादनलाई तथ्यपरक र वैज्ञानिक बनाउनुपर्नेमा जोड दिनुभएको हो ।

विकसित राष्ट्रका औद्योगिक गतिविधिका कारण जलवायु परिवर्तन भएको र त्यसको प्रभाव संसारमै परेको भएता पनि नेपालजस्ता साना मुलुकमा मानवीय तथा भौतिक क्षति हुने गरेको मन्त्री भुसालको भनाइ छ । उहाँले भुक्षय, बाढीपहिरोजस्ता मौसमजन्य विपद्का असरलाई पनि जल तथा मौसम विज्ञान विभागले अध्ययनमा समेट्नुपर्ने बताउनुभयो । मन्त्री भुसालले भन्नुभयो–‘बाढीपहिरोको असर हामीले झेलिरेका छौं । यस वर्ष सिन्धुपाल्चोक र मनाङमा ठूलो जलधनको क्षति भएको छ ।’ उहाँले मौसमजन्य विपत्तीबाट जनताको जीवनको रक्षा गर्ने तथा हुन सक्ने असरलाई न्यूनीकरण गर्नका लागि सूचना प्रवाह महत्वपूर्ण रहेको र त्यसका लागि विभागले २४ सैं घण्टा काम गर्दै आएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

मन्त्री भुसालले सङ्गठन पुनःसरचना गरेर अगाडि बढ्नका लागि सूचना प्रविधि९आइटी०सम्बन्धी दरवन्दी समयाअनूकुल बनाउन आफूले सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले स्वीकृत कार्ययोजनाअनुसार छिटो र छरितो आफ्ना लक्ष्य पूरा गर्न निर्देशन दिनुभयो । सो अवसरमा विभागका महानिर्देशक सरजुकुमार वैद्यले विभागका गतिविधिबारे विस्तृत जानकारी गराउनुभएको थियो ।