‘अति गरिब विपन्नलाई मास्क किनेर लगाइदिनू’


दयाराम पण्डित, बाजुरा ।

बाजुरामा हालसम्म ३३ हजारले कोरोनाबिरुद्ध खोप लगाएको तथ्याङ्क सार्वजिक भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले आयोजना गरेको कार्यालय प्रमुखकको बैठकमा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले उक्त तथ्याङ्क सार्वजनिक गर्नुभएको हो ।

‘बाजुरामा १८ वर्षमाथि झण्डै एक लाख जनसंख्या छ । उक्त जनसंख्यामध्ये हालसम्म ३८ प्रतिशत जनताले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । कक्षा ११ र १२ मा पढ्ने १८ वर्ष उमेर पुुगेका विद्यार्थीलाई पहिलो डोज खोप लगाउन थालिएको छ’ –कार्यालय प्रमुख पन्तले बताउनुभयो । ‘बाजुराको सबै जनसंख्यालाई यो वर्षभित्र खोप लगाउन पाए अर्को वर्षदेखि यो जिल्लामा कोरोना प्रकोप शून्य हुनेछ कोरोना समस्या रहँदैन’ –कार्यालय प्रमुख पन्तले भन्नुुभयो ।

त्यसै गरी बाजुराका इकडी, कोल्टी, जुड्डी र हिमाली गाउँपालिकाको धुलाचौरमा स्वास्थ्य हेल्प डेस्क राखेर स्वास्थ्य परीक्षण कार्य प्रभावकारी रूपमा सञ्चालन भएको छ । पछिल्लो समयमा बाजुरामा कोरोना संक्रमितको संख्या पनि न्यून रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

‘सरकारी तथा सार्वजनिक संघसंस्थामा सेवा लिन आउने सेवाग्राहीलाई मास्क अनिवार्य प्रयोग गर्न लगाउने र स्वास्थ्य मापदण्ड पालना नगर्ने सेवाग्राहीलाई सरकारी सेवा पनि नदिनू । अति गरिब विपन्न छन् भने मास्क किनेर पनि लगाईदिनू’ –प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले कर्मचारीलाई निर्देशन दिनुुभयो ।

माक्स नलगाउनेबाट बुधबार दिउँसो मात्र प्रहरीले ३२ सय रुपियाँ जरिवाना उठाएको बताइएको छ । तपाईंको माक्स खै ? भन्ने नारासहित स्थानीय प्रशासन तथा प्रहरीले केही दिन अगाडि जिल्लामा अभियान सञ्चालन गरेको थियो ।

कोरोना संक्रमणबाट बाजुरामा सबैभन्दा बढी विद्यार्थी र बालबालिका प्रभावित भएका छन् । उनीहरूको पढाइलेखाइ निक्कै प्रभावित भएको छ । विद्यालय बन्द रहँदा कतिपय बालबालिकाले स्कुल जानुपर्छ भन्ने मानसिकता नै हराइसकेको अभिभावकको गुनासो छ । ‘स्वास्थ्य मापदण्ड अपनाई आंशिकरूपमा विद्यालय सञ्चालन गरेका छौं, त्रास हटेको छैन’ –जाल्पादेवी माविका प्रधानाध्यापक वेदप्रकाश जोशीले भन्नुभयो ।

त्यसै गरी महामारीको बेला मेडिकलवालाले औषधिको मूल्यमा व्यापक वृद्धि गरी बिक्री गरेको पाइएको छ । ‘सदरमुकाममै त यो हालत छ जिल्लाका ग्रामीण क्षेत्रमा कति महँगी होला’ –प्रजिअ अधिकारीले भन्नुभयो । चिकित्सक स्वास्थ्यकर्मीले नियमित अनुुगमन गरी जनतालार्ई राहात उपलब्ध गराउन अनुरोध गर्नुभयो ।

जनप्रतिनिधिबाट सरकारी साधानको व्यापक दुरुपयोग भएको आरोप लागेको छ । जिल्लाअधिकांश सरकारी तथा सार्वजनिक कार्यालयका प्रमुखलाई बोलाएर गत वर्षको समीक्षा र आगामी वर्षको योजना कार्यक्रम अनिवार्य पेश गर्न जिल्ला प्रशासन कार्यालय बाजुराले कर्मचारीलार्ई निर्देशन गरेको सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले जानकारी दिनुुभयो ।