कैलाश–मानसरोवर दर्शनका लागि मोटरसाइकल यात्रा


अर्जुन बोहरा, हुम्ला ।

हुम्लाको लिमीको लाप्चा नजिकै रहेको कैलाश–मानसरोवर दर्शनका लागि सदगुरु (जग्गी वासुदेव) ले मोटरसाइकलबाट बिहीबारदेखि यात्रा शुरू गर्नुहुने भएको छ । हुम्लाको विमानस्थल सिमकोटमा बुधबार अपराह्न २ बजे सदगुरु पुग्नुभएको थियो ।

सद्गुरुका लागि प्रयोग गर्न मोटरसाइकल हवाईमार्गबाट ढुवानी गरेर सिमकोट झारिएको पर्यटन व्यवसायी विजय लामाले जानकारी दिनुभयो । ‘पैदलमार्ग शुरु भएपछि गुरुले ठाउँ र अवस्था हेरी मोटरसाइकलमा यात्रा गर्ने उहाँले बताउनुभयो । कैलाश मानसरोवरसम्म कच्ची सडक खुलेपछि सडकको अवस्था हेरेर मोटरसाइकलमा गुरु सवार हुनुहुनेछ भने त्यसपछि बीचमा बोलेरो जिपमा पनि उहाँलाई सवार गर्ने तयारी गरिएको छ ।’ –पर्यटन व्यवसायी लामाले बताउनुभयो ।

लाप्चा पुग्ने यात्राका लागि १० दिनको समय व्यवस्था गरिएको छ भने प्रतिदिन चारदेखि पाँच घण्टामात्र टोलीले यात्रा गर्नेछ । एघारौं दिनमा लाप्चा पुगेर सदगुरुसहितको ५० जना धार्मिक पर्यटकले मानसरोवर कैलाशको दर्शन गरेर सिमकोट फिर्ता हुने कार्यक्रम तय गरिएको छ । हिन्दू र बौद्ध धर्मालम्बीहरुको महत्वपूर्ण तीर्थस्थल कैलाश–मानसरोवरको दुरदर्शनका लागि धार्मिक पर्यटकहरु हुम्लामा आउने शुरू गरेका छन् । हुम्लाको नाम्खा गाउँपालिका–६ को लिमीको लाप्चाबाटै कैलाश दर्शनका लागि २ दिनको अवधिमा १ सय ७ जना विभिन्न देशका विदेशी पर्यटक तथा स्वदेशी पयर्टक जिल्ला पुगेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ ।

कोरोना भाइरसकै कारण धार्मिक तथा सांस्कृतिक महत्वको कैलाश मानसरोवार आवत–जावत गर्न चिनियाँ पक्षले रोक लगाएका बेलामा सद्गुरु हुम्लाको लाप्चाबाटै दर्शन गर्न हुम्ला आएको हुम्लाका प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताउनुभयो । ५ हजार मिटर अग्लो स्थान हुम्लाको लाप्चा क्षेत्रबाट मानसरोवर कैलाशको दर्शन गर्न सकिने व्यास्था मिलाएको छ ।