कांग्रेसको सबै स्थानीयतहमा प्रशिक्षण कार्यक्रम


नेपाल समाचारपत्र, बैतडी ।

नेपाली कांग्रेस बैतडीले जिल्लाका सबै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । कांग्रेसको १४औं महाधिवेशन नजिक आइरहेका बेला जिल्लाका १० वटै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

यसअघि गोठलापानीमा बसेको जिल्ला कार्यसमितिको बैठकले गरेको निर्णयअनुसार नै सबै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालनको तयारी भएको हो । प्रशिक्षण कार्यक्रम बुधबार दोगडाकेदार गाउँपालिकाबाट शुरु भएको नेपाली कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिनुभयो । प्रशिक्षण कार्यक्रममा जिल्लाकार्यसमितिका पदाधिकारी, पूर्वकेन्द्रीय सदस्य, पूर्वपदाधिकारी, पूर्वसभापतिहरुले प्रशिक्षण दिनेछन् । कांग्रेसको संगठनलाई बलियो बनाउन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको थियो ।

सुर्नया गाउँपालिकामा भदौ १० गते, भदौ ११ गते पञ्चेश्वर गाउँपालिका, भदौ १२ गते मेलौली नगरपालिका र शिवनाथ गाउँपालिका, भदौ १३ गते दशरथचन्द नगरपालिका, भदौ १५ गते पुर्चौंडी नगरपालिका र भदौ १६ गते पाटन नगरपालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ । डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकाको हकमा प्रशिक्षणको मिति पछि तोकिने जनाइएको छ ।

यसअघि बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्लामा रहेका पार्टीका क्रियाशील सदस्यहरुको सदस्यता अनुमोदन गर्ने निर्णय गरेको थियो ।

यसै गरी, पार्टीबाट निर्वाचित जनप्रतिनिधि, पार्टी पदाधिकारीहरुलाई भदौ १५ गतेभित्र लेबी बुझाउन आग्रह गरिएको र लेबी नबुझाएमा पार्टीको महाधिवेशनमा भाग लिन नदिने निर्णयसमेत भएको छ । मंसिर ९ गतेदेखि १३ गतेसम्म १४औं महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका सार्वजनिक गरेको नेपाली कांग्रेसले तल्लो तहको अधिवेशन भदौ १८ देखि कात्तिक १२ गतेसम्मा सम्पन्न गर्ने जनाएको छ ।
जसअनुसार भदौ १८ मा वडा अधिवेशन, भदौ २७ मा गाउँ÷नगर अधिवेशन, असोज १ मा प्रदेशसभा क्षेत्रीय अधिवेशन गरिनेछ । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते र एकभन्दा बढी प्रतिनिधिसभा क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते सम्पन्न गर्ने र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म गर्ने कांग्रेसको कार्यतालिका रहेको छ ।