निजी पहलमा बिरालोहरूका लागि सुविधा सम्पन्न घर


नयाँदिल्ली, (एजेन्सी) ।

भारतको गुजरात निवासी ‘उपेन्द्र गोश्वामी’ नामक एक व्यक्तिले बिरालोहरूलाई बसोबासको व्यवस्था गर्ने उद्देश्यले पाँच सय वर्ग यार्ड क्षेत्रफलमा ‘क्याट गार्डेन’ खोलेका छन् । कुचको गान्धीधाम शहरमा घर खरिद बिक्री कारोबार पेसा गर्दै आएका गोश्वामीले सन् २०१७ मा स्थापना गरेको ‘क्याट गार्डेन’मा अहिले दुई सय वटाभन्दा बढी बिरालो रहेका छन् । उनले सन् १९९४ मा निधन भएकी आफ्नी बहिनीको यादमा सो गार्डेन स्थापना गरेका हुन् ।

गोश्वामी भन्छन्, ‘हामी प्रत्येक वर्ष हाम्रा बहिनीको जन्मदिन मनाउँदछौं । एकपटक एउटा बिरालोले घरभित्र पसेर उनको बर्थ डे केक खाएदेखि त्यो बिरालो हामीसँगै बस्दै आएका छन् । यो अनौठो घटना बहिनीको निधनपछि घटेको थियो । हामीले यो बिरालोको रूपमा हामीसँग हाम्रा बहिनी बसिरहेको विश्वास लिएको छौं । त्यसपछि हाम्रो परिवारले धेरै बिरालो पाल्न थाल्यौं ।’बिरालोका लागि बनाइएको घरमा सम्पूर्ण सुविधा राखिएका छन् । त्यहाँ चारवटा एयर कन्डिसनयुक्त कोठा, र १२ वटा पलङसहितका १६ वटा कटेज पनि रहेका छन् । साथै, त्यहँँ थुप्रै स्नान गृह र एउटा सानो खालको थियटर पनि छन् ।

थियटरमा बेलुका बिरालोहरू बिरालोसम्बन्धी कार्यक्रम हेरेर दंग पर्ने गरेका छन् । तिनीहरूलाई दिनको तीनपटक खाना ख्वाइने गरिएको छ । त्यो पनि विश्वकै सर्वोत्कृष्ट ब्रान्डका क्याट फुड । पशु चिकित्सकहरूद्वारा तिनीहरूको नियमित स्वास्थ्य परीक्षण हुने गरिएको छ । त्यसका लागि अहमदावाद जिवदया च्यारिटेबल ट्रस्टले सहयोग पु¥याइरहेको छ ।

विद्यालयका प्रिन्सिपल रहेकी गोश्वामीकी पत्नीले पनि उनलाई बिरालोहरूको स्याहार सुसारमा सहयोग गर्दै आएकी छन् । यसरी बिरालो पाल्न र तिनीहरूको घर मर्मत सम्भारमा लाग्ने डेढ लाख भारु बराबरको खर्चको ९० प्रतिशत गोश्वामी परिवारले नै व्यहोर्दै आएको छ । आइतबारका दिन सो क्याट गार्डेन आगन्तुकहरूका लागि निःशुल्क खोलिने गरिएको छ ।