झ्याप्प–झ्याप्प बत्ती जाँदा प्राधिकरणमा तनाव


नेपाल समाचारपत्र, काठमाडौं ।

लोडसेडिङ अन्त्य भएपछि पनि विद्युत् आपूर्तिलाई अनियमित हुने र बिनाजानकारी झ्याप्प–झ्याप्प बत्ती जाने गरेको पछि नेपाल विद्युत प्राधिकरणले चासो राखेको छ । प्राधिकरणले नयाँ बत्ती जडानका लागि मिटर नपाउने, नो लाइटमा फोन गर्दा फोन नउठ्ने जस्ता गुनासो आउन थालेपछि यस्ता समस्या समाधान गरी सेवा प्रवाहमा सुधार ल्याउन प्राधिकरण व्यवस्थापनले पहल शुरू गरेको हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार ग्राहकसँग प्रत्यक्ष सम्पर्क राख्ने वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक, सातवटै प्रादेशिक कार्यालय, प्रदेश डिभिजन कार्यालय र शाखाका प्रमुखहरूसँग भर्जुअल बैठक राखेर कार्यालयले बेहोरिरहेका समस्याका बारेमा छलफल गरी गुणस्तरीय विद्युत् आपूर्ति, सेवा प्रवाहमा सुधार, सुशासन कायम गर्न कठोर बन्न निर्देशन दिनुभएको छ ।

विद्युत् आपूर्ति भरपर्दो, गुणस्तरीय बनाउन, चुहावट नियन्त्रण गर्न, विद्युतीकरण गर्न, वित्तीय अनुशासन कायम गर्न र आफ्नो सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्नेमा उहाँको जोड छ ।

‘छिनछिनमा बत्ती जाने गरेको, गुनासो गर्दा नो लाइटमा फोन नउठ्ने, गुनासो सम्बोधन नहुनेजस्ता गुनासो मलाई मात्रै होइन मन्त्रीसमक्ष्ँ समेत आउने गरेको छ, यस्ता गुनासोलाई तत्काल समाधान गरी उपभोक्तालाई नियमित, गुणस्तरीय, भरपर्दो विद्युत् आपूर्ति र सेवा प्रवाह सुधारमा केन्द्रित हुनुपर्छ,’ उहाँले भन्नुभयो–‘संस्थाभित्रको सुशासन कायम गरी ग्राहकलाई दिने सेवा सुधार गर्न आफैं सुध्रिएर नैतिक आचरण देखाउनुपर्छ, चुहावट नियन्त्रण अभियान रोकिएको छ, स्थानीय तह र प्रशासनसँगको समन्वय र सहकार्यमा यसलाई तत्काल शुरू गर्नुपर्छ ।’

उहाँले कसैको दबाब र प्रवाहमा नपरी उच्च नैतिक आचरण देखाएर जिम्मेवार भई काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले भन्नुभयो–‘विद्युत्को माग बढाउन ग्राहकले माग्नसाथ थ्रि फेज मिटर दिनुपर्छ, प्रसारण तथा वितरण संरचनाहरुको सुदृढीकरण तथा स्तरोन्नति गर्ने योजना बनाइ तत्काल काम शुरू गर्नुपर्छ, निर्माणाधीन आयोजनाहरुको छिट्टो सम्पन्न गर्नुपर्छ, रुग्ण बनेका र काम नगर्ने ठेकेदारसँगको ठेक्का तोड्नुपर्छ ।’

खर्च नियन्त्रणका लागि स्टोरमा रहेका पुरानो सामानको अधिकतम् प्रयोग गरी जिन्सी सामानको स्टक घटाउने, नयाँ सामान खरिदमा नियन्त्रण, काम नलाग्ने जिन्सी सामानको लिलामी, ट्रान्सफर्मरहरुको मर्मत समयमै आफ्नै वर्कशपमा गरिने छ । वित्तीय अनुशासन कायम गर्न ठाडो खरिद, कोटेशनमार्फत् हुने खरिदको नियन्त्रण आर्थिक प्रशासन विनियमावलीलाई कडाइका साथ पालना गरिने छ ।

कर्मचारीको आचरण सुधार गरी सुशासन कायम गर्न गलत काम गर्ने कर्मचारीलाई कारबाही, माथिल्लो निकायलाई जानकारी नदिई कार्यालय नछोड्ने, संस्थालाई थप आर्थिक भार पर्ने कुनै पनि गतिविधि नगर्ने जस्ता व्यवस्था प्राधिकरणले गरेको छ ।

शहरी सौन्दर्यलाई वृद्धि गर्न ‘उज्यालो र सफा शहर अभियान’ चलाउने घोषणा गरेको प्राधिकरणले उज्यालो शहर अभियानअन्तर्गत नगरपालिकासँगको समन्वय र सहकार्यमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरु, विश्वसम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त आधुनिक बत्ती ९स्मार्ट लाइट० जडान गर्ने प्रक्रिया शुरू गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ । साथै सफाइ अभियानअन्तर्गत मुख्य तथा सहायक सडकमा रहेका प्रयोगविहीन अनावश्यक विद्युतीय पोल तथा तारहरु हटाउने, तारलाई भूमिगत गर्नेलगायतका काम अगाडि बढाउन पनि प्राधिकरणको निर्देशन छ ।

बैठकमा वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपयकार्यकारी निर्देशक मनोज सिलवालले चुहावट नियन्त्रण, विद्युतीकरण, सेवा प्रवाह सुधारमा केन्द्रित हुन निर्देशन दिनुभयो । उहाँले रुग्ण बनेका आयोजनाको ठेक्का तोड्न र कुनै ठेकेदारबाट काम हुँदैन जस्तो लागेमा ठेक्का तोड्ने प्रस्ताव ल्याउन आग्रह गर्नुभयो । कार्यक्रममा प्रादेशिक कार्यालयका प्रमुखले आफ्नो क्षेत्रमा संरचना अभावमा मागअनुसार विद्युत् दिन नसकिएको, पोल, ट्रान्सफर्मर, मिटरलगायतका अभाव रहेको जानकारी गराउनु भएको थियो ।