चौसट्ठी वर्गमिटरभित्र सुरेलको पीडा



चिरञ्जीवी मास्के ।

दोलखा जिल्लाको उत्तरी भेगमा चौसट्ठी वर्गमिटर, सुरेलहरुको एक परिवारको जमिन । लोपोन्मुख सुरेल जातिलाई केन्द्रविन्दुमा राखेर कविता कोरिए, कथा बुनिए, थेसिस बने, प्रोजेक्ट पसे तर सुरेलको जीवन फेरिएन, उनीहरुको जमिनमा एक वर्गमिटर पनि थपिन सकेन ।

‘तिनै चौसट्ठी वर्गमिटरमा
हजुरबा, हजुरआमा
बा, आमा
छोरा, छोरी, नाति–नातिना
धेरै रमाए बेमतलब
धेरै नाचे विनाताल
धेरै हुर्के अन्धाधुन्ध
धेरै बढे, धेरैलाई बढाए
तर, कहिल्यै बढ्दै बढेन
जमिनको टालो ।’

यही हरफबाट कविता संग्रहको शीर्षक राखेका छन् कवि जीवन लामाले आफ्नो दोस्रो कविता संग्रहको नाम ‘चौसट्ठी वर्ग मिटर’ । ३५ वटा कविता सङ्गृहीत ‘चौसट्ठी वर्गमिटर’ कविता संग्रहमा दोलखाको सुरीमा रहेको लोपोन्मुख सुरेलहरुको पीडा ओकलेका छन् कवि लामाले । र लेखेका छन्–

‘उज्यालो पर्खिरहन्छन्
सुरेल बा
उज्यालोले पनि खोजिरहन्छ
पुसको चिसोसँगै
सुरेल बाको एक धर्को कमिज ।’

भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरतबहादुर केसीले विमोचन गर्नुभएको ‘चौसट्ठी वर्गमिटर’ कविता संग्रहको बारेमा लेखक लामा भन्दै थिए– ‘धेरै कुराहरु परिर्वतन भयो, राणाकालदेखि गणतन्त्रसम्म आइपुग्दा तर सुरेलको जीवनमा अहँ थोरै पनि परिवर्तन हुनै सकेन ।’
एउटा परिवारको लागि चौसट्ठी वर्गमिटरको जमिन कहिले बढाउन सकिएला ? आफ्नो कविताको भाव यस्तै रहेको लामाको भनाइ थियो । १३६ पेजको पुस्तकमा १०८ पेजमा रहेको ३५ वटा कवितामा सुरेलको पीडामात्र हैन, थामीका कथा र कोरोनाको आक्रमण पनि समेटिएका छन् ।

थामीको संस्कृतिसँग जोडिएको राङराङथलीलाई कविले कलात्मक ढङ्गले उतारेका छन् ‘चौसट्ठी वर्गमिटर’ कविता संग्रहमा । लेखेका छन्–

‘कतै लडेका
कतै हराएका
कतै कुल्चिएका
अनि कतै ढलेका
थामहरु !
थामेका छन् थामीहरुले
राङराङथलीको ।’

कोरोनाले थलिएको अर्थतन्त्र र मानवीयतालाई पनि कवि लामाले केही कविताहरुमा समेटेका छन् । कोरोना कहरमा मेरो बा भन्दै लामाले लेखेका छन्–

‘आकाशे मैदानमा हवाईजहाज हुँदै
समुद्रको छालसँग, वायुको घोडा चढेर
विश्वको यात्रामा निस्केको
मन–मस्तिष्क
रन्थनाउँदै लम्किरहेको
मेरो देशमा पनि
लुसुक्क आइपुग्यो कोरोना ।’

कवि जीवन लामाको ‘चौसट्ठी वर्गमिटर’ कविता संग्रहमा श्रवण मुकारुङले भूमिका लेखेका छन् र भनेका छन्– सुरो कविता । पुस्तक विमोचनको अवसरमा साहित्यकार विष्णु सुवेदी, शङ्करलाल श्रेष्ठ, मुरारि दुलाल, पत्रकार राजेन्द्र मानन्धर, दीपशङ्कर चौलागाईं, जनजाति नेताहरु जंग गुरुङ, सुवास सुरेललगायतले पनि ‘चौसट्ठी वर्गमिटर’ कविता संग्रहलाई सुरो कविताको सङ्कलन भनेर सुझावसँगै प्रशंसा गरेका छन् ।

श्रवण मुकारुङले भूमिकामा उल्लेख गर्नुभएको एरिसटोटलको सिद्धान्त कयार्थसिस वा विरेचनकै लाइनमा अघि बढेको ‘चौसट्ठी वर्गमिटर’ कविता संग्रह कविताका उल्लिखित पाटाहरुलाई परिवर्तन गर्न सहयोगी बन्नेछ, विमोचन कार्यक्रमका वक्ताहरुको यही अपेक्षा थियो ।

प्रतिक्रिया दिनुहोस्