जसपा विभाजनसँगै प्रदेश र स्थानीय तहका जनप्रतिनिधि तानातानमा

700
Shares

जनकपुरधाम ।

जनता समाजवादी पार्टी औपचारिक रुपमै विभाजन भएको छ । महन्थ ठाकुर जसपा नेपाल लोकतान्त्रिक पार्टी दर्ताको प्रक्रियामा अघि बढेका छन् । दल विभाजनसम्बन्धी अध्यादेशले जसपा विभाजन भएसँगै नेता तथा सांसद आफ्नोतिर पार्ने खेल सुरु भएको छ । उपेन्द्र यादव नेतृत्वको जसपा र महन्थ ठाकुर नेत्तृत्वको जसपा (लोकतान्त्रिक) बनेपछि दुई दलमा सांसद तानातानको खेल सुरु भएको हो । प्रतिनिधिसभादेखि प्रदेशसभा तथा स्थानीय तहमा पनि यो खेल सुरु भएको छ । निर्वाचन आयोगले कुन नेता कता जाने भनेर २१ दिनको समय दिएकाले पनि दुवै पार्टी नेता तथा सांसद तानातान गरिरहेका छन् ।

प्रतिनिधिसभाका सांसदहरु पहिला नै खुलिसकेकाले अहिले दुवै पार्टीको नजर प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिमाथि छ ।

प्रदेशसभामा तत्कालीन संघीय समाजवादी पार्टीका ३० र तत्कालीन राष्ट्रिय जनता पार्टीका २५ जना सांसद थिए । दुई पार्टी मिलेर निर्माण भएको जनता समाजवादी पार्टीले प्रदेश २ का सरकारको नेतृत्व गर्दै आएको थियो । तर अहिले विभाजित भएर अलग पार्टी भएपछि सांसदहरुले पनि आफ्ना स्वार्थ र राजनीतिक फाइदा हेर्न थालेका छन् ।

तत्कालीन राजपाका सांसदहरु अहिले महन्थ ठाकुर, राजेन्द्र महतोलाई छोडेर उपेन्द्र यादव नेतृत्वको जसपामा गइरहेका छन् । तत्कालीन राजपामा प्रदेश सभामुख सरोजकुमार यादवसहित २५ जना सांसद थिए । अहिले त्यसमध्ये १२ जना सांसदले ठाकुर(महतोलाई छोडेर उपेन्द्रलाई रोजेका छन् । महतोनिकट मानिएका नवल किशोर साह, मनिष सुमन, विक्की यादव, नेत्रविक्रम साह, निरा साह, ठाकुरनिकट मानिएका रमेश पटेल, बाबुलाल साह यादव समूहका लागेका हुन् ।

तत्कालीन राजपाका अंजु यादव, रानी शर्मा तिवारी, रिना यादव, रामनरेश राय यादव, सुरेश मण्डल पनि यादवतिर लागेका छन् । प्रदेश २ का १३६ वटा स्थानीय तहमध्ये तत्कालीन संघीय समाजवादी पार्टी २६ र राजपा २५ गरी ५१ वटा स्थानीय तहमा जितेका थिए । राजपा विभाजनसँगै स्थानीय तहका मेयररउपमेयरहरुले पनि आफ्नो राजनीतिक हित र स्वार्थअनुसार दल छनोट गरिरहेका छन् । महतोनिकट मानिएका जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह पनि यादव समूहतिर लागेका छन् । तत्कालीन राजपाबाट निर्वाचित सप्तरी राजविराजका मेयर शम्भु यादव पनि अहिले यादव समूहमा छन् ।

तत्कालीन राजपाबाट यादव नेतृत्वको जसपामा गए पनि तत्कालीन संघीय समाजवादी पार्टीबाट ठाकुर समूहतिर प्रदेशसभामा कुनै सांसद आएका छैनन् । यसले प्रदेशमा ठाकुर(महतो समूहलाई बढी क्षति भएको देखिन्छ । ठाकुरनिकट मानिएका प्रदेश सांसद तथा तत्कालीन राजपाका प्रमुख सचेतक परमेश्वर साहले भने, ‘तर अहिले धेरै समय बाँकी रहेकाले कुन सायद कता जाने हो यकिन साथ भन्न सक्ने अवस्था छैन । उहाँहरुले हाम्रो सांसदलाई धम्काएर वा विभिन्न प्रलोभन देखाएर आफ्नोतर्फ तानेका छन् । तर हामी पनि चुप लागेर बसेको छैनौ, हामीले पनि उताका सांसद ल्याउने प्रयास गरिरहेका छौं ।’ पार्टी विधिवत रुपमा दर्ता भएपछि निश्चितमा केही साथीहरु यता आउनु हुन्छ भनेर प्रयासमा आफूहरु लागेको उनको भनाइ थियो ।

‘तत्काल सांसद संख्याको हिसाब गर्दा हामीलाई क्षति भएकै हो । यो लुकाउने विषय होइन,’ उनले भने, ‘तर हाम्रो समर्थक, नेता तथा कार्यकर्ता कही गएको छैन । उहाँहरु हामीसँगै छ । त्यसले हामीलाई खासै फरक पर्दैन । नयाँ पार्टी भएपछि संगठन बनाउने कठिनाई नहुने होइन । तर हाम्रो संगठन पहिलादेखि नै रहेकाले हामीलाई खासै समस्या हुँदैन ।’

यता, यादवनिकट जसपाका सचेतक शैलेन्द्रप्रसाद यादवले एउटै दल विभाजन हुँदा कुनै पनि व्यक्तिलाई आफ्नो इच्छाअनुसारको पार्टी छनोट गर्ने अधिकार रहेको बताए । ‘तत्कालीन राजपाबाट निर्वाचित सांसद वा स्थानीय तहका जनप्रतिनिधिले आफ्ना इच्छाअनुसार जसपा नै छनोट गरिरहेका छन्, त्यो ठूलो कुरो होइन,’ उनले भने, ‘जसपा मधेसी जनतासँगको वाचाअनुसार अगाडि बढिरहेको छ । तर, केही प्रतिगमनकारीको प्रलोभनमा परेर बाटो नै विराए पनि मधेसको भावना बुझ्ने नेता कही जाँदैनन्, जसपामै बस्छन् ।’

यादवले कसैलाई नधम्क्याएको दाबी गरे । ‘हाम्रोतर्फबाट कुनै तानातान छैन, न हामीले कसैलाई धम्काएका छौं,’ उनले भने, ‘बरु उनीहरुकै तर्फबाट त्यस्तो काम भइरहेको छ । तर, प्रतिगमनकारी तथा मधेससँग गद्दारी गर्नेसँग जाँदैनन् भन्नेमा हामी विश्वस्त छौं ।’