कञ्चनपुरमा शिक्षक र प्रहरीबीच झडप


न्युज अफ नेपाल, कञ्चनपुर ।

कञ्चनपुरको भीमदत्तनगरपालिका कार्यालयमा धर्ना बसेका शिक्षक र प्रहरीबीच झडप भएको छ । नेपाल शिक्षक सङ्घ कञ्चनपुरले कार्यविधि मिचेर र प्रक्रियालाई बेवास्ता गरी विभेदपूर्ण तवरले शिक्षक दरबन्दी मिलान गरेको जनाउँदै यहाँ धर्ना शुरु गरेको थियो ।

सङ्घका सचिव नवीनसिंह धामीले ३५ दिनदेखि आन्दोलनरत हुँदा नगरपालिकाले सुनुवाइ नगरेको बताए । उनले प्रहरीको झडपमा परी १२ जना सामान्य घाइते भएको बताएका छन् ।

घाइतेको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको सङ्घले जनाएको छ । आज आन्दोलनमा पार्टीका भ्रातृ सङ्गठनले आन्दोलनमा ऐक्यबद्धता जनाउन आएका बेला प्रहरी र नगरप्रहरीले लाठी चार्ज गरेको शिक्षकको आरोप छ । आन्दोलनरत पक्ष र प्रहरीबीच झडप हुँदा ढुङ्गामुढासमेत भएको छ ।