प्रधानमन्त्री देउवाद्धारा कुम्भेश्वर मन्दिर उद्घाटन


ललितपुर ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कुम्भेश्वर (सर्वेश्वर) मन्दिरको उद्घाटन गर्नुभएको छ । बिसं २०७२ सालको शक्तिशाली भुकम्पले क्षतिग्रस्त मन्दिर परिसरमा कुम्भेश्वर महादेव र मन्दिरको गजुरको पुजा गरी मन्दिरको उद्घाटन गर्नु भएको छ । पाँचतले सो मन्दिरको कुम्भेश्वर महादेवका पुजारी माधव श्याम शर्माले मन्त्रो उच्चारण गर्नुभएको थियो ।

बिहान ११ बजेको शुभ साइतमा प्रधानमन्त्री र पत्नी आरजु देउवा राणाले पुजा अर्चना गर्नुभएको थियो । बैशाख १२ र २९गते आएको भुकम्पले मन्दीरको तीन तला क्षतिग्रस्त भएको थियो । यसअघि नेपाली काग्रेसका सभापतिको हैसियतमा बिसं २०७४ साल बैशाख ३० गते प्रम देउवाले नै मन्दिरको क्षमा पुजा गर्नुभएको थियो ।क्षमापुजा गरी जिर्णोद्धार शुरु गरेको ४ वर्षपछि मन्दिरको पुननिर्माण सम्पन्न भएको हो । मन्दिर जिर्णोद्धार समितिका संयोजक एवं कुम्भेश्वर टोल सुधार समितिका संयोजक अरोजकुमार खड्गीले करिब २ करोड ८२ लाख रुपियाँ लागतमा जिर्णोद्धार सम्पन्न भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–‘लक डाउन र निर्माण समाग्रीको अभावको कारण जिर्णोद्धारमा ढिलाई भएको बताउनुभयो । समितिको निरन्तर सहयोगको कारण ठेकेदार कम्पनीले समयमै काम सम्पन्न गरेको संयोजक खड्गीको भनाई छ । पुरातत्व विभागले धर्मएस तुल्सी ड्रामा जेभि ललितपुरलाई ठेक्का दिएको थियो । मन्दीर जिर्णोद्धार समितिको संयोजकहरुमा टोल सुधार समितिका अरोजकुमार अध्यक्ष खड्गी, कुम्भेश्वर मन्दिरका पुजारी माधव श्याम शर्मा र वंगलामुखी मन्दीरका द्योपाला पुष्प कपाली रहनुभएको थियो ।

उद्घाटन समारोह अवधीभर कार्यक्रममामन्दिरका भजन मण्डलले परम्परागत बाजा बजाएका थिए । मन्दिर उद्घाटन लगत्तै प्रम देउवा र प्रम पत्नी आरजु देउवाले लगायत कुम्भेश्वर मन्दिर परिसरमा रहेको वंगलामुखी, लगायत मठ मन्दिरको दर्शन गर्नुभएको थियो । पुजा पछि प्रम देउवाले निर्माण समितिले तयार गरेको शिलापत्र अनावरण गर्नुभएको थियो ।