‘नेपाल मास्क कार्यक्रम’ शुभारम्भ


पुष्कर बुढाथोकी, भक्तपुर ।

‘मास्क लगाऔं एक अर्कालाई बचाऔं’ भन्ने नाराका साथ राष्ट्रव्यापी रुपमा ‘नेपाल मास्क कार्यक्रम’ शुभारम्भ गरिएको छ ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिका–४ दुईपोखरीबाट मास्क लगाऔं अभियान शुभारम्भ गरिएको हो । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन र मध्यपुरथिमि नगरपालिकाका प्रमुख एवं उपत्यका नगरपालिका फोरममा सचिव मदनसुन्दर श्रेष्ठले एकैसाथ स्वयंसेवक र स्थानीयलाई मास्क वितरण गर्दै राष्ट्रव्यापी मास्क अभियान शुरु गर्नु भएको हो ।

कार्यक्रम ललितपुर महानगरपालिकाका प्रमुख महर्जनले सबैसँग मास्क भएपनि कसैको मास्क हातमा, कसैको चिउँडोमा र कसैले खल्तीमा राखेर हिड्ने गरेकाले प्रभावकारी नभएको बताउनुभयो । उहाँले मास्क कसरी लगाउने र कोरोना भाइरसबाट कसरी सुरक्षित हुने भनेर घरघरमा गएर जनचेतना फैलाउनु पर्ने औल्याउनुभयो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले कोरोना भाइरस दिनदिनै बढ्दै गएको र तेश्रो लहरको जोखिम बढेको अबस्थामा नेपाल मास्क अभियान मध्यपुरबाट शुरु गरिएको बताउनुभयो ।

२० पटकसम्म धोएर पुनः प्रयोग गर्न मिल्ने बंगलादेशबाट आएको पाँच लाख मास्क वितरण गर्दैछौँ, त्यसका लागि १५ जना स्वयंसेवक प्रत्येक घरघरमा पुगेर मास्क वितरण गर्दै मास्क कसरी प्रयोग गर्ने भनेर सिकाउने छन्,” नगर प्रमुख श्रेष्ठले भन्नुभयो,।

“ अमेरिकाबाट तीन करोड मास्क आउँदैछ, त्यो मास्क उपत्यका मेयर फोसम मार्फत उपत्यकाका सबै पालिका र देशभरका पालिकामा वितरण गर्ने अभियान चलाइनेछ ।” स्वयंसेवकले एउटा घरमा तीन जना वा कम सदस्य भए २५ वटा मास्क र तीन जनाभन्दा बढी सदस्य भए १ प्याकेट अर्थात ५० वटा मास्क निःशुल्क वितरण गर्नेछन् ।

त्यसअवसरमा मध्यपुरथिमि नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, वडा नं. ४ का वडाध्यक्ष कुमार श्रेष्ठले मास्क हातमा, गोजीमा र चिउडोमा लगाउने प्रबृत्ति अन्त्य गर्दै सही तरिकाले मास्क लगाउन सिकाउनु पर्ने औल्याउनुभयो ।

कोभिड १९ र्‍यापिड एक्सन टाक्स फोर्स र नगरपालिकाको समन्वयमा यो अभियानमा अमेरिकाबाट रोशनराज श्रेष्ठ, प्रिति अधिकारीले भारत, बंगलादेश, पाकिस्तानमा सफल भएको यो अभियान नेपालमा ल्याउन आफूहरु सफल भएको बताउनुभयो ।