बेपत्ता भएको ५३ वर्षमा घर फर्के, ७८ वर्षमा नागरिकता

11.19k
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।

रोजगारीका लागि भारत गएपछि उतै बेपत्ता बनेका पर्वतको महाशिला गाउँपालिकाका एक बृद्ध ५३ बर्षमा घर फर्कनुभएको छ । पर्वतको महाशिला गाउँपालिका–५ लुँखुदेउरालीको आहाले गाउँका टीकाराम विश्वकर्मा ५३ बर्षपछि गाउँ फर्कनु भएको हो ।

२५ वर्षको उमेरमा रोजगारीको सिलसिलामा भारत पसे ५३ बर्ष सम्म उतै हराउनुभएका बिश्वकर्माले ७८ बर्षको उमेरमा नेपाली नागरिकता पाउनुभएकोछ । भारतको गुहाटी लगायतका ठाउँमा रोजगारीका क्रममा उतै हराउनुभएका बिश्वकर्माले जीवनको उत्तराद्र्दमा जन्मथलो फर्केर नागरिकता पाउँदा बल्ल नेपाली भएको अनुभव सुनाउनुभयो ।‘बुढेसकाल लागेपछि यही ठाउँको याद धेरै आयो। गाउँका सबैलाई सम्झिएर बसिरहन्थे। रातदिन घर परिवार, गाउँ सम्झिएर साह्रै आत्तिएँ’ फोनमा कुरा गर्दै टीकारामले भन्नुभयो ‘अब म उता जान्न यतै बस्छु। गुहाटीमा पनि म अब नेपालमै बस्छु भनेर आएको हुँ।’

गाउँमै बिहे गरेर दुई सन्तान जन्माएपछि उहाँ भारत पस्नुभएको थियो । भारत जाँदा उहाँका कान्छा छोरा अमर ६ महिनाको हुनुहुन्थ्यो । त्यो बेलामा सञ्चार माध्यमको विकास नभएका कारण बेलाबेलामा घर आउनु वा चिठी पठाउनु नै खबरको माध्यम थियो। तर नपढेका टीकारामले चिठी पनि पठाउन सक्नुभएन ।

उहाँ भारत गएको करिब तीन वर्षमा श्रीमतीले पनि घर छाडेर हिँडेपछि परिवारको बिचल्ली भएको थियो । महाशिला गाउँपालिकाका प्रवक्ता जीवन विक्रम उचैका अनुसार टीकारामले गुहाटीमा नै अर्को बिहे गरेर उनीबाट तीन छोरा जन्मिए। आफ्नो घर नेपालको लुंखुमा रहेको र आफूलाई त्यहाँ जान मन लागेको भन्दै नेपालकै पूर्वी जिल्ला घर भई गुहाटीमा बस्दै आएका एक जना नेपालीलाई टीकाराम नेपालमा सम्पर्क गर्न अनुरोध गरे। तिनै पूर्वेली युवाले महाशिला गाउँपालिकाको सम्पर्क पत्ता लगाएर प्रवक्ता उचैलाई फोन गरे। उचैको समन्वयमा गुहाटीमा रहेका कान्छा छोरासहित लिएर उनी नेपाल आउनुभएको हो । उहाँ विभिन्न ठाउँमा जागिर गर्दै भारतको गुहाटी पुग्नुभएको थियो । ‘सिंगो जीवन गुहाटीमा बित्यो तर बुढ्यौलीले च्याप्दैजाँदा उहाँलाई आफ्नै मातृभूमिको याद आयो र गाउँ सम्झिन थाले।’ उहाँले भन्नुभयो ‘अहिले नागरिकता पाउँदा बल्ल नेपाली भएकोमा गर्व लागेको छ ।

प्रवक्ता उचैका अनुसार नागरिकता नपाएका टीकारामलाई जाने बुझेका स्थानीय ९० वर्षीय पुरुष र ९३ वर्षीया महिलाको सनाखतको आधारमा उनले नागरिकताको प्रमाणपत्र दिइएको छ । नागरिकता पाएसँगै उहाँलाई सामाजिक सुरक्षा भत्ता समेत उपलब्ध गराइएको छ। गाउँले र छोराले नै चिन्न नसक्ने अवस्थामा ५३ वर्षपछि घर फर्किएका टीकारामको परिवारमा पुनर्मिलन भएको छ।