खुला मञ्चलाई खुला नै राखिने


नेपाल समाचारपत्र, काठमाडौँ ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले खुला मञ्चलाई खुला नै राख्ने महानगरपालिकाको अडानले मूर्तरूप प्राप्त गरेको बताउनुभएको छ । काठमाडौं महानगरपालिकाको ६८औं कार्यपालिका बैठकलाई सम्बोधन गर्दै शाक्यले यस्तो बताउनुभएको हो ।

‘राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणका क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्रीहरू र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि उहाँहरूकै आग्रहमा काठमाडौं महानगरपालिकाले सहमति दिएको थियो’, प्रमुख शाक्यले भन्नुभयो– ‘वीर अस्पताल र दरबार हाइस्कुलको पुनर्निर्माण सम्पन्न भएसँगै खुलामञ्चलाई खुला गर्ने हाम्रो अडानले पूर्णता प्राप्त गरेको छ । पछिल्लो समय बसपार्क पनि त्यहाँबाट हटाएर खुलामञ्चलाई पूर्णरूपमा खुला गरेका छौं ।’

शाक्यले आम नागरिक, राजनीतिक दल र विभिन्न समूहका अभिव्यक्ति स्वतन्त्रताका लागि सार्वजनिक स्थानहरू उपलब्ध हुनुपर्छ भन्ने हेतुले खुलामञ्चलाई खुला नै छाड्ने महानगरपालिकाको नीतिलार्ई निरन्तरता दिएको स्मरण गराउनुभयो । ‘विभिन्न राजनीतिक दल र सर्वसाधारणले आफ्ना आवाज र माग सम्बोधनका लागि सडकमा सभा–सम्मेलन, धर्ना, जुलुस गर्दा ट्राफिक जाम भई आवतजावत नै अस्तव्यस्थ भई थप भीडभाड बढ्ने र अन्तर्राष्ट्रिय यात्रुहरूलाई समेत ओहोरदोहोरमा कठिनाइ हुने भएकाले हामीले खुलामञ्चलाई व्यवस्थापन गर्न खोजेका हौँ’,शाक्यले भन्नुभयो– ‘खुलामञ्च व्यवस्थापनसँगै माइतीघर, बानेश्वर, दरबारमार्ग, रत्नपार्क लगायतका स्थानमा सभा–सम्मेलन, धर्ना, जुलुस गर्न नपाउने समेत व्यवस्था गर्न चाहेका छौं ।’

शाक्यले खुलामञ्च थप व्यवस्थापनका लागि सरकारसँग पहल गरिरहेको पनि जानकारी गराउनुभयो । ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा प्रधानमन्त्रीसँग पटक–पटक रानीपोखरीदेखि खुला मञ्चसम्मलाई व्यवस्थापन गर्न हामीले तयार पारेको गुरुयोजनाबारे छलफल गरेका थियौँ’, शाक्यले भन्नुभयो– ‘हामीले तयार पारेको गुरुयोजनाबारे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग पनि पटक–पटक छलफल गरेका छौं । त्यसैले खुला मञ्चलाई खुला नै राख्नुपर्छ भन्ने हाम्रो अभियान अहिले पनि जारी छ ।’

धरहरा उद्घाटनका बेला प्राधिकरणले लैनचौरदेखि केशरमहल, नारायणहिटी दरबारदेखि जमल हुँदै रानीपोखरीसम्म, रानीपोखरीदेखि टुँडिखेल हुँदै दशरथ रंगशालासम्मको क्षेत्रलाई खुला क्षेत्रका रूपमा व्यवस्थित गर्ने ग्रेटर टुँडिखेल गुरुयोजना अघि सारेको पनि स्मरण गराउनुभयो ।

शाक्यले नेपाल सरकार, प्रदेश सरकार, उपत्यकाभित्रका पालिका र सवारी साधन व्यवसायीको समन्वय, सहकार्य र लागत सहभागितामा सवारी साधानको कार्य प्रकृति तथा सञ्चालन हुने दूरीका आधारमा लामो दूरी र सहरी यातायातका छुट्टछुट्टै सवारी साधान टर्मिनलको विकास गर्न महानगरपालिकाले पहल गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो ।

शाक्यले काठमाडौं महानगरपालिका सार्वजनिक जग्गाको संरक्षण अभियानमा लागि परेको समेत स्मरण गराउनुभयो । ‘खुलामञ्च मात्रै होइन महानगरपालिका क्षेत्र भित्रका अतिक्रमित सार्वजनिक जग्गालाई महानगरपालिकाले खोजी गरी पार्क बनाउने, खुला राख्ने जस्ता अभियान चलाएको उहाँको भनाइ थियो ।