फोहोर व्यवस्थापनमा समस्या, केही दिन घरमै व्यवस्थापन गर्न महानगरको अपिल

1.8k
Shares

ईश्वरराज ढकाल, काठमाडौं ।

केही दिनदेखि परेको वर्षाका कारण सिसडोल ल्यान्डफिल साइट क्षेत्र हिलाम्य भएपछि राजधानीको फोहोर व्यवस्थापन हुन सकेको छैन । यसले गर्दा एक सातादेखि काठमाडौं र आसपासका क्षेत्रमा फोहोर थुप्रेर सडक, गल्ली, बजार लगायत सबै क्षेत्रमा नाक थुनेर हिड्नुपर्ने अवस्था पैदा भएको छ ।

राजधानीका सबै क्षेत्रमा फोहोर थुप्रिएपछि काठमाडौं महानगरपालिकाले केही दिन फोहोर व्यवस्थापन गर्न नसक्ने जनाएको छ । कामपा वातावरण व्यवस्थापन विभागले तत्कालका लागि घरमै फोहोरको व्यवस्थापन गर्न अपिल गरेको छ ।

राजधानीलगायत उपत्यकाका १८ स्थानीय निकायको फोहोर व्यवस्थापन गर्ने स्थान सिसडोल ल्यान्डफिल साइट हिलाम्य भएर फोहोर ओसार्ने गाडी लैजानसमेत नसकिएको कामपा वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।

सिसडोल क्षेत्रमा लगातार वर्षा भइरहेका कारण फोहोर लैजान सक्ने अवस्था नरहेको जानकारी दिँदै ल्यान्डफिल साइट इन्चार्ज सरकारदीप श्रेष्ठले भन्नुभयो– ‘एक वर्षदेखि भरिएको ल्यान्डफिल साइटमा ८० फिट माथिसम्म फोहोर व्यवस्थापन गर्दै आएका थियौं, सबै क्षेत्र हिलाम्य भएपछि फोहोर व्यवस्थापन गर्न गर्न समस्या भएको छ ।’

केही दिनयता फोहोर व्यवस्थापन गर्ने सवारीसाधनलाई डोजरले ठेलेर पनि सिसडोल ल्यान्डफिल साइटमा फोहोर खसालिएको श्रेष्ठले बताउनुभयो । कामपाले सिसडोलमा फोहोर लैजान नसकेपछि टेकुस्थित ट्रान्सफर स्टेसनमा व्यवस्थापन गरेको थियो । ट्रान्सफर स्टेसनमा अहिले करिब १ सय ५० ट्रिपर फोहोर थुप्रिएको छ । त्यहाँ पनि स्थानीयले अवरोध गरेपछि अहिले बाटोमै फोहोर थुप्रिँदा टेकु, कालीमाटी, कुलेश्वर, बल्खु, रामघाट, हनुमानढोकालगायतका क्षेत्र दुर्गन्धित भएका छन् ।

दैनिक झण्डै १ हजार ५० मेट्रिक टन फोहोर व्यवस्थापन हुने सिसडोल ल्यान्डफिल साइटमा उपत्यकाका १८ स्थानीय तहसहित धादिङ, काभ्रे र नुवाकोट जिल्लाका केही स्थानीय तहको फोहोर व्यवस्थापन हुने गरेको छ ।
सरकारले बञ्चरेडाँडा ल्यान्डफिल साइट तयार नगर्दा यो समस्या आएको हो ।

विभागीय प्रमुख श्रेष्ठले सिसडोल ल्यान्डफिल साइट भरिसकेको र भ्याली टु को केही स्थान खाली गरेर फोहोर व्यवस्थापन गरिरहेको जानकारी दिँदै अब केही दिनमै फोहोर विसर्जन गर्न नसक्ने अवस्था आउने बताउनुभयो ।

सरकारले करिब एक अर्ब रुपियाँ खर्च गरेर बन्चरेडाँडा ल्याडफिल साइटमा विभिन्न संरचना निर्माण गरिरहेको छ । २०६२ सालमै ३ वर्षभित्र बञ्चरे डाँडाको पूर्वाधार तयार पारेर २०६५ सालबाट फोहोर व्यवस्थापन गर्ने लक्ष्य राखिएको थियो तर १५ वर्ष बितिसक्दा पनि बञ्चरेडाँडाको ल्यान्डफिल साइट तयार हुन सकेको छैन ।