परीक्षार्थीलाई खोप



सरकारले खोप उपलब्ध नभए परीक्षा नै नदिने चेतावनी दिँदै आएका विद्यार्थीका माग पूरा गरेको छ । पाँच विद्यार्थी संगठनको मागपछि स्वाथ्य तथा जनसंख्या मन्त्रालयले परीक्षामा सहभागी हुने विद्यार्थीलाई हिजो बिहीबारबाट खोप दिन शुरू गरेको छ । स्वाथ्य तथा जनसंख्या मन्त्रालयले परीक्षामा सहभागी हुने सबै विद्यार्थीलाई खोप दिने घोषणा गरेअनुसार काम शुरू भएको बताइएको छ ।

मन्त्रालयले प्रवेशपत्रको आधारमा खोप उपलब्ध गराउन शुरू गरेको छ । सरकारको सही कामको शुरूवातलाई सबैले तारिफ पनि गरेका छन् । परीक्षामा सहभागी हुने विद्यार्थीले खोप उपलब्ध नगराए परीक्षा बहिष्कार गर्ने चेतावनी दिएका थिए । तीन दिनअघि पिके र एक साताअघि पाटन संयुक्त क्याम्पसका विद्यार्थीले परीक्षार्थीलाई खोप दिनुपर्ने माग गर्दै आन्दोलन नै गरेका थिए । दुवै क्याम्पसका विद्यार्थीले परीक्षा बहिष्कार गर्न भन्दै क्याम्पस प्रशासनविरुद्ध नारा लगाएका थिए । विद्यार्थीको दबाब थेग्न नसकेपछि सरकारले परीक्षामा सहभागी सबै विद्यार्थीलाई खोप दिने वचन दिएको थियो । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार परीक्षामा सहभागी ६० हजार विद्यार्थीलाई खोप दिन शुरू गरिएको छ । साउन ३० गतेसम्म प्रवेशपत्रका आधारमा विद्यार्थीहरूलाई खोप दिइने बताइएको छ । जिल्ला जनस्वाथ्य कार्यालयले परीक्षार्थीलाई एस्ट्राजेनिका वा भेरोसेलमध्ये एउटा कम्पनीको खोप दिने व्यवस्था मिलाएको छ । कोभिसिल्ड लगाएकाहरूलाई पनि दोस्रो मात्रा खोप दिइने छ । ती विद्यार्थीले प्रवेशपत्रको आधारमा प्रहरी अस्पताल पानीपोखरी, वीरेन्द्र सैनिक अस्पताल छाउनी, सशस्त्र प्रहरी अस्पताल बलम्बु र राधाश्वामी केन्द्र बसुन्धरामा खोप लगाउनेछन् । मन्त्रालयले विश्वविद्यालयस्तरका विभिन्न तहका परीक्षामा सामेल हुने विद्यार्थीलाई खोप उपलब्ध गराउन सातै प्रदेशका जनस्वास्थ्य कार्यालयहरूलाई निर्देशन दिएको छ । अन्य स्थानहरूमा जनस्वास्थ्य कार्यालयहरूले खोप केन्द्र र मिति तय गर्ने जनाइएको छ । विद्यार्थी संगठनले परीक्षा केन्द्रबाट संक्रमण फैलने त्रासले मानसिक चिन्ता थपिएपछि परीक्षा बहिष्कार गर्ने मनस्थिति बनाएका थिए । पूर्व स्वाथ्यमन्त्री गगन थापा र पाँच विद्यार्थी संगठनको दबाबपछि परीक्षार्थीले खोप लगाउन पाएका छन्, जसलाई स्वागतयोग्य मान्नुपर्छ । परीक्षामा सहभागी हुने विद्यार्थीले पटक–पटक क्याम्पस प्रशासन, त्रिवि मुख्यालय र विभिन्न निकायमा धर्ना दिएका थिए । तर त्रिविले करिब डेढ वर्षदेखि सर्दै आएको परीक्षा यो वर्ष कुनै हालतमा स्थगित नगर्ने अडान लिएको थियो । परीक्षाको तयारीमा रहेका केही विद्यार्थीले कक्षा १२ को परीक्षा स्थगित भएपछि क्याम्पस स्तरीय परीक्षा पनि रोक्न माग गरेका थिए । तर विश्वविद्यालय प्रशासनले परीक्षा स्थगित नगर्ने अडान राख्यो ।

सरकारले खोप उपलब्ध गराएपछि विद्यार्थी परीक्षामा सहभागी हुनेमा आशंका गर्नु आवश्यक देखिन्न । तर, कडा माग र दबाबका आधारमा निर्णय गर्ने सरकारको प्रवृत्तिले संगठितरूपमा बाहिर आउन नसक्ने वर्ग अवसरबाट वञ्चित हुने अवस्था रहन्छ । पछिल्लो समय विश्वमै बन्दाबन्दी नगर्ने, तर कोरोना विरुद्धको खोप वितरणमा जोड दिने अभ्यास चलिरहेको छ । आर्थिक र प्रशासनिक गतिविधि अवरुद्ध भएका कारण मारमा परेको मुलुकलाई जोगाउन पनि खोपतिर लाग्नुको विकल्प देखिन्न ।

प्रतिक्रिया दिनुहोस्