विद्युत् खपतमा वृद्धि, प्रसारण लाइन विस्तार र वितरण प्रणालीमा सुधार गर्ने लक्ष्य

210
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युत् परियोजनाहरू सुचारु, प्रसारण लाइन विस्तार, वितरण प्रणालीमा सुधार तथा भूमिगत गर्नेलगायतका कार्ययोजना सार्वजनिक गर्नुभएको छ । मन्त्री भुसालले बुधबार पत्रकार सम्मेलन गरी आफ्नो कार्ययोजना सार्वजनिक गर्नुभएको हो ।

मन्त्री भुसालको उत्पादित विद्युत् खपतलाई बढाउने तथा प्रदेशगत रूपमा अर्धजलाशय र जलाशययुक्त आयोजना नेपाल विद्युत प्राधिकरणमार्फत् अघि बढाउने बताउनु भएको छ । १२ सय मेगावाट क्षमताको बूढीगण्डकी, ७५६ मेगावाट क्षमताको तमोर, ६३५ मेगावाटको दूधकोशी, ५३६ मेगावाटको सुनकोशी–३ जस्ता आयोजा नेपाल विद्युत प्राधिकरणमार्फत् अघि बढाउने तयारी सरकारको योजना रहेको मन्त्री भुसालले जानकारी दिनुभयो । त्यस्तै रसुवागढी, सान्जेन, मध्यभोटेकोशी, त्रिशूली–३ ‘बी’, राहुघाट, तनहुँ सेती जस्ता निर्माणाधीन आयोजनाहरुको निर्माणलाई पनि तीव्रताका साथ अघि बढाउने गरी मन्त्रीको कार्ययोजना रहेको छ । दुई वर्षभित्र सबै जिल्लामा राष्ट्रिय प्रसारण लाइनमार्फत् विद्युत्को पहुँच पुर्‍याउने लक्ष्य लिएको सरकारले प्रसारण लाइन विस्तारलाई पनि महत्वका साथ योजनामा राखेको छ । उत्पादित विद्युत् प्रसारण लाइनको अभावमा खेर जान नदिन रणनीतिक महत्वका क्षेत्रमा ठूलो क्षमताका प्रसारण लाइन निर्माण गर्ने ऊर्जा मन्त्रालयको कार्ययोजना छ ।

त्यस्तै गरिबीको रेखामुनी रहेका जनतालाई निःशुल्क विद्युत् उपलब्ध गराउने महत्वाकांक्षी योजना लिनुभएकी मन्त्री भुसालले विद्युत् नियमन आयोगमा प्रस्ताव पठाइएको जानकारी दिनुभयो । विद्युत् खपत बढाउन तथा साना किसानको जीवनस्तर बढाउन स्यालो ट्युबेलको जडानमा प्रोत्सहान गर्ने मन्त्री भुसालले बताउनुभयो । त्यसबाहेक भाडामा बस्नेलाई समेत विद्युत्को मिटर उपलब्ध गराउने योजना सरकारको छ । विद्युत् चुहावटलाई गम्भीरताका साथ नियन्त्रण गर्ने योजना सरकारको छ । एक प्रतिशत विद्युत् चुहावट बराबर ८० करोड रुपियाँ रहेकाले त्यो नियन्त्रण गर्न कडाइका साथ अगाडि बढ्ने मन्त्री भुसालले बताउनुभएको छ । साथै विद्युतीय सवारीलाई प्रोत्साहन गर्न महशुलमा सहुलियत दिने, ऊर्जा मन्त्रालय र मातहतका कार्यालयले विद्युतीय सवारी साधन मात्र प्रयोग गर्ने तथा यसै वर्ष ५० वटा चार्जिङ स्टेसन निर्माण गर्ने योजना सरकारले अघि सारेको छ ।