‘सरकारले नागरिकमा छाएको निरासा चिर्नुपर्छ’



पुष्कर बुढाथोकी, भक्तपुर ।

नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले सरकारले नागरिकमा राजनीतिप्रति छाएको निरासा चिर्ने गरी काम गरेर देखाउनुपर्ने बताउनुभएको छ । बुधबार भक्तपुरको मध्यपुर नगरपालिका–३ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गर्दै नेता सिंहले कुनै दलले पनि जनताले दिएको म्यान्डेटको अपमान गर्न नहुने बताउनुभयो हो ।

नेता सिंहले जनप्रतिनिधि जनता र मुलुकप्रति उत्तरदायी हुनुपर्ने भन्दै जनप्रतिनिधिले गर्ने व्यवहारलाई नागरिकले उच्च महत्वका साथ हेरिरहेकाले जनप्रतिनिधिको गतिविधिले जनताको राजनीतिकर्मीमाथिको धारणा बन्ने बिचार व्यक्त गर्नुभयो ।

उहाँले जनमत र विधिको शासनको उपहास गर्दा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको बताउनुभयो ।

नेता सिंहले ओलीमा बढेको अहमताले मुलुकको राष्ट्रिय राजनीति फरक किसिमले अघि बढेको बताउँदै उहाँको भनाइ र गराईमा फरक रहेको विचार व्यक्त गर्नुभयो ।

सिंहले आफ्नो शासन कालमा के–कति भ्रष्टाचारका समाचार आए भन्ने कुरा ख्याल गर्न समेत ओलीलाई आग्रह गर्दै दुई तिहाइको ओली सरकार बालुवाटारबाट बालकोट पुगेको दृष्टान्तबाट सबैले पाठ सिक्नुपर्ने बताउनुभयो ।

ओलीले सर्वसत्तावादी सोच पाली म नै विधि म नै कानुन, मैले जे गरे पनि हुन्छ भन्ने व्यवहारले गर्दा ओलीको सत्ता बर्हिगमन भएको भन्दै संविधान र कानुनभन्दा माथि कोही पनि नहुने उल्लेख गर्नुभयो । कार्यक्रममा मध्यपुरथिमि नपाका प्रमुख मदन सुन्दर श्रेष्ठले नगरपालिकाका गतिविधिमाथि प्रकाश पार्नु भएको थियो ।

नेपाली कांग्रेसका नेता अष्ट कबेले भवनमा छिट्टै सर्वोच्च नेता गणेशमान र भक्तपुरबाट पहिलोपटक सांसदमा निर्वाचित भएर मन्त्री भएका भूमि सुधारवादी कांग्रेस नेता जगन्नाथ आचार्यको शालिक राखिने बताउनुभयो ।

कार्यक्रममा वडा नं तीनका वडाअध्यक्ष प्रेम कुटुले गरिब तथा जेहनदार विद्यार्थीको छात्रवृत्ति कोष स्थापनाका लागि आफूले पाँच वर्षमा नगरपालिकाबाट पाउने पारिश्रमिक अक्षयकोषमा जम्मा गर्ने घोषणा गर्नुभयो । १ करोड ३९ लाखको लागतमा निर्मित भवन कोरोना कहरकै बीच निर्माण सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्