मोडेल भिलेजमा विविध कार्यक्रम


कास्की, (नेस) ।

लायन्स क्लब अफ पोखरा फिस्टेलद्वारा नमुना उद्यमी गाउँ ‘मोडल भिलेज’ घोषित कास्कीको मादी गाउँपालिका–५ ठूलास्वाँरामा यस वर्ष पनि विविधि कार्यक्रम सम्पन्न भएको छ । लायन्स फिस्टेल भिलेजका रूपमा स्थापित गाउँमा मंगलबार स्टेसनरी, खेलकुद सामग्री, बाल्टी, तथा विभिन्न जातका फलफूलका बिरुवा वितरण गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि लायन्स मोडल भिलेज कास्कीका संयोजक टीकाराम सापकोटा, अध्यक्ष केसी, क्लबका पूर्वअध्यक्षहरू, स्थानीय आमा समूह, टोल विकास संस्थाका अध्यक्ष, विद्यालयका शिक्षक विद्यार्थीलाई सामूहिक रूपमा सरसामान वितरण गरेको क्लबका अध्यक्ष पदमबहादुर केसीले बताउनुभयो ।

कार्यक्रममा मादी गाउँपालिका–५ का वडाध्यक्ष रतन बहादुर गुरुङले क्लबले ठूलास्वाँरालाई लायन्स भिलेज छनोट गरी आयआर्जनका काम गरेर गाउँलाई नमुना बनाएको भन्दै खुसी व्यक्त गर्नुभएको थियो । लायन्स मोडेल भिलेज कास्कीका संयोजक टीकाराम सापकोटाले मोडेल भिलेजको अवधारणा बारे प्रकाश पार्दै समुदायमा दिगो रोजगारीको अवसर र समान आर्थिक पहुँच पर्‍याउने उद्देश्य रहेको प्रस्ट्याउनुभएको थियो ।

ठूलास्वाँरा टोल विकासका अध्यक्ष सुकमाया गुरुङ, स्थानीय समाजसेवी जगत्बहादुर गुरुङ, भीमबहादुर गुरुङले कोभिडको महामारीका बीचमा पनि विद्यालय र समुदायलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

क्लबले विगत ११ वर्षदेखि ठूलास्वाँरामा रहेका ६० घर–परिवारलाई लक्षित गरी प्रत्येक परिवारको आय–आर्जनमा वृद्वि, व्यावसायिक दक्षता अभिवृद्वि तथा रोजगारीमुलक कार्यलाई सघाउ पु¥याउँदै आएको छ । क्लबले विभिन्न गैरसरकारी संघ–संस्थाको सहकार्यमा स्थानीयलाई विभिन्न सीपमूलक तालिम प्रदान गर्दै आएको छ ।