हराएको ३५ वर्षपछि आफ्नो जन्मथलोमा



अमृत अर्याल, स्याङ्जा ।

उपचारका क्रममा दिल्ली पुगेका वालिङ–५ पित्लेकका एक पुरुष ३५ वर्षपछि परिवारको सम्पर्कमा आउनुभएको छ । पिसाबमा समस्या देखिएपछि दिल्लीमै उपचार गर्ने र उतै अध्ययन गर्ने सोचसहित बुबासँग गएका शोभाकान्त लामिछाने (शुकुन्त शर्मा) लाई सामाजिक सञ्जालमार्फत काभ्रे बनेपास्थित एक होटलमा काम गरिरहेको रहस्य खुलेपछि परिवारले सम्पर्क गरेका थिए ।

करिब ७ वर्षको उमेरमा बुबासँगै दिल्ली गएका बेला चिनेकै मान्छेले काममा लगाइदिन्छु भनेर लगेको र त्यही बेलादेखि नै सम्पर्कमा नभएको आमा हिमादेवी लामिछानेले बताउनुभयो । सानै उमेरमा बेपत्ता भएकाले पनि उसले यहाँको ठाउँको नाम भन्न नजानेको आमा हिमादेवी बताउनुहुन्छ । भीम उपाध्यायको फेसबुक पेज र काभ्रेको बनेपाबाट प्रकाशित हुने तपाईँ हाम्रो साप्ताहिक पत्रिका तथा पत्रकार साथीहरुको सहयोगमा भाइलाई फेला पार्न सफल भएको दाजु पूर्णचन्द्र लामिछानेले बताउनुभयो । झण्डै ४६ वर्ष पुगेका दाजुलाई घरमा ल्याउन पाउँदा निकै खुसी लागेको भाइ रमेशको भनाइ छ । हराएको र करिब भेटिने आशा नभएको छोरा भेटिएको खबरले वालिङ–५ पित्लेकमा रहेका परिवारसँगै आफन्त, इष्टमित्र, छरछिमेकीमा पनि खुसी छाएको छ ।

हराएको ३५ वर्षपछि आफ्नो जन्मथलोमा फर्किएका शोभाकान्तलाई घर–परिवार तथा स्थानीय आमा समूहले स्वागत गरेको थियो । जिल्लाको वालिङ–५ पित्लेक कोलपाटामा आयोजित स्वागत कार्यक्रममा बोल्नुहुँदै वालिङ नगरपालिका–५ का वडाध्यक्ष ढाकाराम पंगेनीले लामो समयदेखि हराएका शोभाकान्तलाई आफू जन्मेको घरसम्म ल्याइपुर्‍याउने कार्यमा सहयोग गर्ने संस्था तथा व्यक्तिहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । राम्रोसँग आफू तथा आफू जन्मेको ठाउँको परिचय दिन नसक्ने व्यक्तिलाई सामाजिक सञ्जाल तथा समाचारको माध्यमबाट पहिचान गराई परिवारसँग पुनर्मिलन गराउन सफल हुनु एउटा पुण्य कार्य भएको उहाँको भनाइ छ ।

कार्यक्रममा रेडियो आँधीखोलाका अध्यक्ष नेत्रप्रसाद पाण्डेले सञ्चारमाध्यमको प्रभावकारिता तथा सामाजिक सञ्जालको सही सदुपयोगका कारणले गर्दा शोभाकान्त लामो समयपछि आफ्नो जन्मभूमिमा आउन सफल भएको बताउनुभयो । घर आउन लाखौं कोशिस गर्दा पनि घरको ठेगाना नजानेर विदेशी भूमिमा तथा नेपाल आएपछि पनि स्वदेशका विभिन्न भागमा अलपत्र बन्न पुग्नुभएका शोभाकान्तलाई सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमको प्रयोगमार्फत घर–परिवारसँग पुनर्मिलन गराउन सफल हुनुहुने काभ्रे पनौतीका बुद्धकुमार श्रेष्ठसहितको टिमप्रति पपिरवारजनले आभार व्यक्त गरेका छन् ।

कार्यक्रममा काभ्रे बनेपास्थित तपाई हाम्रो साप्ताहिकका प्रधानसम्पादक बुद्धकुमार श्रेष्ठले होटलमा काम गर्दै आउनुभएका शोभाकान्तले आफू घर जान चाहेको र त्यसका लागि पहल गरिदिन अनुरोध गरेपछि सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरुको सहायता लिएको बताउनुभयो । आफ्नै कारणले लामो समयदेखि विछोडिएको परिवारलाई पुनर्मिलन गराउन पाउँदा आफूलाई निक्कै खुसी लागेको श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा स्थानीय समाजसेवी भुवानेश्वर लामिछाने, हुमनाथ लामिछाने, आमा समूहकी अध्यक्ष सुशीला लामिछानेलगायतले आशा मारिसकेको आफ्नो परिवारको सदस्य घरमा पाउँदा निक्कै खुसी लागेको बताउनुभयो । सोही अवसरमा काभ्रेको बनेपादेखि वालिङसम्म ल्याएर परिवारको जिम्मा लगाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्नुभएका बुद्धकुमार श्रेष्ठसहितको टोलीलाई स्थानीयले सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्