बैतडीका १८ हजारले पाए पूर्ण खोप



नेपाल समाचापत्र, बैतडी ।

बैतडीका १८ हजार बढी नागरिकले कोरोनाविरुद्धको पूर्ण खोप पाएका छन् । स्वास्थ्य कार्यालय बैतडीका अनुसार हालसम्म १८ हजार ६३ जनाले कोरोनाविरुद्धको पूर्ण खोप पाएका हुन् ।

गत माघ महिनादेखि विभिन्न समयमा गरी सञ्चालन भएको खोप अभियानअन्तर्गत हालसम्म उक्त संख्यामा नागरिकले खोप लगाएका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

बैतडीमा हालसम्म खोपको पहिलो डोज मात्र लगाउने नागरिकको संख्या भने ३७ हजार ६ सय ६८ रहेको छ । उनीहरु खोपको दोस्रो मात्राको पर्खाइमा रहेका उहाँको भनाय छ ।

कोभिसिल्ड खोप लगाएका जेष्ठ नागरिकले अहिलेसम्म दोस्रो डोज नपाएका हुन् भने भेरोसेल खोप लगाएका नागरिकलाई भने दोस्रो डोज मौज्दात राखेर खोप दिइएको हो । जोन्सन एन्ड जोन्सन खोपको एक डोज मात्रै लगाउनुपर्ने भएकाले ११ हजार ४ सय ९५ जनाले सो खोप लगाएका छन् ।

जिल्लामा पहिलोपटक गएको माघ १० देखि २४ गतेसम्म कोरोनाविरुद्धको खोप अभियान शुरु भएकोमा फागुन २ देखि १० गते सम्म र फागुन २३ देखि २७ गते सम्म कोभिसिल्ड खोप लगाइएको थियो ।

यस्तै, गएको वैशाख ७ देखि १३ सम्म र जेठ १४ देखि २४ गतेसम्म पनि कोभिसिल्ड खोप लगाइएको थियो । यस्तै, जेठ २१ देखि २४ गतेसम्म भेरोसेल खोप लगाइएको थियो भने असार २० देखि २४ सम्म त्यसको दोस्रो मात्रा दिइएको थियो । जिल्लामा साउन १७ देखि २१ सम्म भेरोसेल खोपको पहिलो मात्रा दिइएको थियो भने साउन २३ र २४ गते जोन्सन एन्ड जोन्सन खोप लगाइएको थियो । जिल्लाका प्रत्येक वडाका खोप केन्द्रबाट कोरोनाविरुद्धको खोप लगाइएको छ ।

बैतडीमा हाल कोरोनाका ३५ जनामात्रै सक्रिय संक्रमित रहेका छन् । कोरोनाकै कारण १८ जनाको मृत्यु भइसकेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा साउन ३१ सम्म निषेधाज्ञा जारी छ ।

प्रतिक्रिया दिनुहोस्