कांग्रेसले दियो प्रशिक्षण



स्याङ्जा, (नेस) । 

नेपाली कांग्रेस स्याङ्जाले गाउँ–गाउँमा प्रशिक्षण दिन थालेको छ । मंगलबार हरिनास गाउँपालिका–७ मा पनि नेपाली कांग्रेसले कार्यकर्ता प्रशिक्षण गरेको छ । प्रशिक्षण कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका कार्यवाहक सभापति कुमार रानाले नेपाली कांग्रेसका नीति, सिद्धान्त र वर्तमान अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो ।

सबै वर्ग, जातजाति, धर्मसंस्कृतिलाई अँगाल्दै समान अवसर र व्यवहार गर्ने एकमात्र पार्टी नेपाली कांग्रेस भएको उहाँको भनाइ थियो । हरेक समास्यामा समाधान गर्दे सुख–दुःखमा विचलित र उग्र नहुने नेपाली कांग्रेंसको मौलिकपनप्रति अहिले धेरैको आकर्षण बढेको रानाले जनाउनुभयो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेस प्रदेश नं. १ को कार्यवाहक सभापति ओम भट्ट, सहकारी विभाग केन्द्रीय सदस्य केशवराज लम्साल, नेपाल विद्यार्थी संघका पूर्वसभापति अर्जुन पौडेल, केन्द्रीय खेलकुद विभाग सदस्य देवकुमार मानन्धर, हरिनास गाउँपालिका सभापति टोपबहादुर चन्द, उपसभापति टोपबहादुर भुजेललगायतले पार्टीभित्र गुटगत विचलन देखिए पनि नीतिगत राजनीतिमा कुनै मतभेद नभएको दाबी गर्नुभएको थियो ।

सोही कार्यक्रममा ५० जनाभन्दा बढी युवा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । जनमुक्ति मोर्चा, बाबुराम थापा र नेकपा एमाले हरिनासका युथफोर्स सहसंयोजक गोपी लम्सालको नेतृत्वमा झण्डै ५० जना युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेको उपसभापति टोपबहादुर भुजेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्