विभाजनको पाँच महिनापछि गाउँ पस्दै माओवादी



नरेन्द्र केसी, दाङ ।

पार्टी विभाजनको पाँच महिनापछि बल्ल पार्टी संगठन निर्माणका लागि नेकपा माओवादी केन्द्र गाउँ छिर्न थालेको छ । गत वर्ष फागुन २३ गते भएको सर्वोच्च अदालतको फैसलापछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनीरूपमा विभाजन भएर एमाले र माओवादी केन्द्र बनेका थिए । माओवादी केन्द्र छुट्टै पार्टी बने पनि पार्टी संगठन निर्माणको काममा जुट्न सकिरहेको थिएन ।

एकताका बेलामा वडा र पालिका समितिहरुका अध्यक्ष वा सचिवमध्ये एक पदाधिकारी एमालेको र एक पदाधिकारी माओवादीको राखिएकोमा विभाजनपछि माओवादी केन्द्रका एक जना मात्रै पदाधिकारीका भरमा पार्टीको स्थानीय तह कमिटी चलेको थियो । एमालेका दुवै पक्ष जिल्ला हुँदै स्थानीय तहसम्म पुगिसकेको भए पनि माओवादी केन्द्र भने बल्ल स्थानीय तहमा जान शुरु गरेको छ ।

केही दिनअघि भएको स्थायी समिति बैठकले साउन ३० गतेभित्र देशभरिका सबै वडामा पार्टी कमिटी पुनर्गठन गरेर केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेपछि स्थानीय तहका पार्टी समितिहरु सक्रिय बन्न थालेको सो पार्टीले जनाएको छ ।

यसैबीच दाङमा नेकपा माओवादी केन्द्रले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा विस्तार बैठक सम्पन्न गरेको छ । पार्टी स्थायी समितिको निर्णयअनुसार साउन ३० गतेभित्र सबै वडामा कमिटी गठन पुनर्गठन गरिसक्ने निर्णयअनुसार सबै निर्वाचन क्षेत्रमा विस्तारित बैठक सम्पन्न गरिएको केन्द्रीय सदस्य एवं जिल्ला सहइन्चार्ज निर्मल आचार्यले जानकारी दिनुभयो ।

स्थायी समितिको बैठकलगत्तै बसेको जिल्ला कार्यालयको बैठकले क्षेत्र र पालिकास्तरीय बैठक तय गरेको र सोहीअनुसार कार्यक्रम भइरहेको उहाँले जानकारी दिनुभयो । साउन २० गते क्षेत्र नम्बर १, साउन २१ गते क्षेत्र नम्बर २ र साउन २२ गते क्षेत्र नम्बर ३ को बैठक सम्पन्न भएको छ । बैठकहरुबाट पालिकास्तरीय बैठक तय गरिएको छ । श्निवारेदेखि जिल्लाब्यापी पालिकास्तरीय बैठक शुरु हुने पनि उहाँले जानकारी दिनुभयो ।

एमालेमा दुवै समूह सक्रिय

नेकपा एमालेले भने विभाजनलगत्तै स्थानीय कमिटीमा गतिविधि गर्न शुरु गरिसकेको थियो । अदालतले साविककै एमाले र माओवादीमा फर्कन आदेश दिएपछि आफूहरु प्रदेश, जिल्ला, पालिका हुँदै वडा तहसम्म पहिले नै पुगिसकेको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो । एमाले दाङमा अध्यक्ष, सचिव, उपसचिवलगायतका पदाधिकारी माधवकुमार नेपालतिर लागेपछि ओली समूहले अध्यक्ष र सचिव नयाँ चयन गरेको थियो । हुकुमबहादुर बस्नेतले अध्यक्षको जिम्मेवारी पाउनुभएको छ ।

नेपाल समूहले भने दाङमा आफूहरु नै आधिकारिक भएको भन्दै गतिविधि गरिरहेको छ । केन्द्रीय सदस्य मेटमणि चौधरी, जिल्ला अध्यक्ष टीकाराम खड्का, सचिव हीराचन्द्र केसी, उपसचिव सुरामणि बेलबासेलगायत जिल्ला नेताहरु माधव पक्षमा छन् । आफूहरुले जिल्लास्तरीय भेला, पालिकास्तरीय भेला, जनवर्गीय संगठनका भेला र प्रशिक्षण गरिरहेको उपसचिव बेलबासेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्