झगडामा साथीको कान टोकेर छिनालियो


वासिङ्टन, (एजेन्सी) ।

अमेरिकाको फ्लोरिडा निवासी एक पुरुषलाई कि वेस्ट होटेलमा बिहान सबेरै भएको झगडाको दौरान आफ्नो साथीको कानको एक चोक्टा टोकेरै छिनालेको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ । मोनरने काउन्टी प्रहरीका अनुसार पोर्ट सेन्ट लुसी निवासी ४५ वर्षीय ‘जेम्स लेन विलियम्स’ नामक व्यक्तिलाई स्टक आइल्यान्डस्थित ओसियन्स एड्ज रिसोर्ट एन्ड मारियानामा बिहान सोढे दुई भएको झगडाका क्रममा पटक–पटक ब्याट्री चार्जरबाट प्रहार गरिएका थिए ।

विलियम्स सो होटेलमा अर्का एक पुरुष र दुईजना महिला साथीसँग बिदा मनाउन बसेका थिए । बाहिर कतै गएर होटेल फर्केपछि तिनीहरूबीच झगडा शुरू भएको थियो । विलियम्सले एक महिला साथीलाई मर्मत कार्यमा प्रयोग हुने सानो गाडामा जबर्जस्ती राख्न खोजेपछि विवाद शुरू भएको थियो ।

सो गाडामा राखेर उनलाई होटेलतर्फ ल्याउने क्रममा उनको शरीरमा जथाभावी तरिकाले बियर खन्याउन थालेपछि झगडा शुरू भएको हो । उनको सो अपमानजनक कार्यको अर्को पुरुषले विरोध गर्न थालेपछि तिनीहरूबीच मुक्कामुक्की चलेको थियो ।

गाडामा बसेकी महिला र अर्की महिलाले तिनीहरूलाई छुटाउने असफल प्रयास गरेका थिए । विलियम्सले दुवै महिला साथीलाई पन्छाएर ती पुरुषलाई भुइँमा लडाएपछि उनको कान चपाएका थिए ।