मेक्सिकोमा टीभी पत्रकारलाई मार्ने धम्की


मेक्सिको सिटी, (एजेन्सी) ।

आफूलाई मेक्सिकोकै सबैभन्दा शक्तिशाली लागुऔषध कारोबारी समूहका सदस्य भएको दाबी गर्ने एक पुरुषले एउटा भिडियो सार्वजनिक गर्दै एकजना टेलिभिजन समाचार प्रस्तोताको हत्या गर्ने धम्की दिएका छन् । ती पत्रकारमाथि अनुचित ढंगले समाचार सम्प्रेषण गरेको अभियोग लगाइएको छ ।

जालिस्को न्यु जेनेरेसन कार्टेल (सीजेएनजी) को नाइकेका तर्फबाट ती व्यक्तिले चेतावनी दिएको दाबी गरेका छन् । ती अपरिचित व्यक्तिले मिलेनियो टेलिभिजनले तथाकथित प्रतिरक्षा समूहहरू सीजेएनजीविरुद्ध संगठित गरेको आरोप लगाइएको छ । सो भिडियोमा ‘एजुसेना यरेस्टी’ नामक महिला पत्रकारलाई प्रत्यक्षरूपमा ज्यानको धम्की दिइएको हो । ती व्यक्तिले भिडियोमा भनेका छन्– ‘मलाई जोसुकैले महिला हत्याको आरोप लगाए पनि म तिमीलाई तिमीले बोलेका शब्दहरू खान दिन्छु । हाम्रो समूहले पनि सञ्चारमाध्यमको अभिव्यक्ति स्वतन्त्रतालाई समर्थन गर्दछ । तर, समाचार सधैं सन्तुलित हुनपर्दछ । हाम्रो समूहविरुद्ध उभिएको दाबी गर्नेहरू आफैं पनि लागुऔषध ओसार–प्रसारकर्ता हुन् ।’

सुरक्षा विशेषज्ञहरूले भिजिलान्ते प्रतिरक्षा फौजले अपराध र हिंसाको दर अत्यन्तै उच्च रहेको मिचोआकान राज्यमा स्थिति नियन्त्रणमा लिन निकै मद्दत पुर्‍याउने गरेको छ । तर, तीमध्ये केहीले आपराधिक समूहहरूसँगै उल्टै अवैध सम्झौता गरेर सुरक्षा र हातहतियार लिने गरेको पनि पाइएको छ ।

सीजेएनजी कार्टेलका नाइके नेमेसियो ओसेगुएरा सेर्भोन्तेस मेक्स्किोकै मोस्ट वान्टेड अपराधीमध्ये एक हुन् । संयुक्त राज्य अमेरिकाको लागुऔषध नियन्त्रण निकायले उनको पक्राउका लागि सूचना प्रदान गर्ने व्यक्तिलाई एक करोड अमेरिकी डलर पुरस्कार दिने घोषणा गरेको छ ।