क्यानाडालीलाई जासुसीको आरोपमा कैद सजाय



बेइजिङ, (एजेन्सी) ।

चीनको एक अदालतले एकजना क्यानाडाली व्यापारीलाई जासुसी गरेको अभियोगमा ११ वर्र्ष लामो कारावास सजाय सुनाएको छ । माइकल स्पाभोरलाई सन् २०१८ देखि हिरासतमा राखिएको थियो । उनीसँगै उनका सहकर्मी तथा पूर्व कुटनीतिज्ञ माइकल कोभरिग पनि पक्राउ परेका थिए । यस अदालती निर्णयबाट क्यानाडा र चीनबीचको कुटनीतिक सम्बन्ध अझै चिसिने अनुमान गरिएको छ । हालै मात्र चीनमा एकजना क्यानाडाली नागरिकले आफूलाई सुनाइएको मृत्युदण्डविरुद्ध गरेको अपिल अस्वीकृत भएको थियो । लागुपदार्थ तस्करी गरेको अभियोगमा अदालतले रोबर्ट लोयड स्केलेन्वर्गलाई यो सजाय सुनाएको थियो ।

अदालतले उनीविरुद्धको प्रमाणहरू पर्याप्त भएकाले उनलाई मृत्युदण्डबाट उन्मुक्ति दिन नसकिने स्पष्ट पारेको छ । चीनको टेलिकम्युनिकेसन हुवावेई कम्पनीका वरिष्ठ कार्यकारिणी अधिकारी मेङ वान्झोउलाई समेत क्यानाडाबाटमा चीनसमक्ष सुपुर्दगी गर्ने सम्बन्धमा प्रक्रिया अघि बढिरहेका बेला यो नयाँ घटना घटेको हो ।

राजनीतिक विश्लेषकहरूले चीनले स्पाभोर र कोभरिगलाई राजनीतिक मोलतोलका लागि माध्यमका रूपमा प्रयोग गरिरहेको बताएका छन् । यसलाई ‘बन्धक कुटनीति’ का रूपमा पनि हेरिएको छ ।

बुधबार दान्दोंग अदालतले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘जासुुसी गरेर चीनको गोप्य सूचनाहरू अवैधरूपमा विदेश पठाउने गरेको अभियोगमा स्पाभोरलाई ११ वर्षकै सुनाइएको छ । उनको साथमा रहेको ७ हजार ७ सय १५ अमेरिकी डलर बराबरको निजी सम्पत्ति जफत गरी उनलाई स्वदेश फिर्ता पठाइने छ ।’ तर, स्पष्टरूपमा उनलाई कहिले सम्बन्धित मुलुकसमक्ष सुपुर्दगी गरिनेछ भन्ने खुलाइएको छैन ।
तर, चीनको प्रचलित कानुनबमोजिम सजाय भुक्तानीपछि मात्र सुपुर्दगी गरिने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्