स्विस दूतावासद्वारा चिनियाँ समाचार हटाउन आग्रह


बेइजिङ, (एजेन्सी) ।

चीनस्थित स्विस दूतावासले चिनियाँ सञ्चारमाध्यमलाई अनलाइनमा राखिएका ‘झुठा’ समाचार समावेश गरिएका लेख तथा पोस्टहरू हटाउन अनुरोध गरेको छ । ट्विटर पोस्टमा दूतावासले हालैका दिनहरूमा चिनियाँ सञ्चारमाध्यमले उद्धृत गर्ने गरिएका एक जना स्विस जीवशास्त्री अस्तित्वमा नै नरहेको जनाएको छ ।

चिनियाँ सरकारी सञ्चारमाध्यमले कोभिड–१९ को शुरूवात र विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ ) को स्वाधिनतासम्बन्धी लेखहरूमा ‘विल्सन एडवार्डस’ नामक ती जीवशास्त्रीको नाम उल्लेख भएकोमा आपत्ति जनाइएको हो । स्विस दूतावासको आपत्तिपछि ट्विटरबाट थुप्रै लेखहरू हटाइसकेका छन् ।

ट्विटरमा राखिएको स्विस दूतावासको विज्ञप्तिमा भनिएको छ– ‘हाम्रो मुलुकप्रति ध्यानाकर्षण गरिएकोमा हामी प्रशंसा गर्दछौं । तर, स्विस दूतावासले दुर्भाग्यवश चिनियाँ जनतालाई यो खबर झुठो हो भन्न बाध्य भएको छ ।’

सीजीटीएन, साङ्घाई डेली र ग्लोबल टाइम्सलगायतका संस्थाले तथाकथित जीवशास्त्रीको आफ्नो फेसबुक प्रोफाइलका आधारमा उनका भनाइहरू उद्धृत गरिएको पाइएको छ । स्विस दूतावासले दुई साताअघि मात्र उनको नाममा फेसबुक एकाउन्ट खोलिएको र साथी पनि तीन जना मात्र रहेको विवरण पनि सार्वजनिक गरेको छ ।