ग्लोबल आइएमई बैंकको किस्ताबन्दीमा ल्यापटप योजना


काठमाडौं, (नेस) ।

ग्लोबल आइएमई बैंक र लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेबीच गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाअन्तर्गत काभ्रे जिल्लाका शिक्षकलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र लियो क्लब अफ काठमाडौं टेम्पल पिसको तर्फबाट सल्लाहकार तथा गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजना संयोजक सुदिप न्यौपानेले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाअन्तर्गत रही लियो क्लब अफ काठमाडौं टेम्पल पिस काभ्रेको सिफारिसमा काभ्रे जिल्लामा अध्यापनरत शिक्षकलाई किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउने छ । उक्त प्रक्रियामा शिक्षकहरुले ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड लिएर इजी बाई इजी पे मार्फत सरल किस्ताबन्दीमा सहज तरिकाले ल्यापटप लिन सक्नुहुनेछ ।