बडीमालिकामा पठाइयो सरकारी डोल


विमल विष्ट, डोटी ।

डोटीको जिल्ला सदरमुकाम सिलगढीबाट आज सोमबार बाजुरा जिल्लामा रहेको बडीमालिका मन्दिरका लागि एक सरकारी डोल पठाइएको छ । जनैपूर्णिमाको दिन लाग्ने मेलाका लागि उक्त डोल जिल्ला प्रशासन कार्यालयबाट पठाइएको हो ।

सिलगढीमा रहेको रुद्रध्वज गण, सशस्त्र प्रहरीको ३६ नम्बर गण तथा जिल्ला प्रहरी कार्यालय डोटीको टोलीले शैलेश्वरी मन्दिरमा उक्त डोललाई सलामी दिएपछि सरकारी कर्मचारीसहितको सरकारी डोल बाजुर जिल्लामा रहेको बडीमालिका मन्दिरका लागि प्रस्थान गरेको हो ।
राणा कालदेखि तत्कालीन डोटी गौणा अर्थात् जिल्ला कार्यालय सिलगढीमा पूजाआजा गरी विधिवत् रूपमा सरकारी कर्मचारीहरूले डोल लैजाने चलन रहँदै आएअनुसार आज आफूहरूले पनि सरकारी डोल पूजाआजा गरी सरकारी खर्चमै पठाइएको निमित्त प्रमुख जिल्ला अधिकारी मधुकृष्ण पौड्यालले बताउनुभयो । उहाँले भन्नुभयो– ‘राणाकालदेखि डोल पूजाआजा गरेर सरकारी खर्चमै पठाउने चलन रहेछ, सोहीअनुसार हामीले पनि आज पूजाआजा गरेर डोल पठाएका छौँ ।

उक्त सरकारी डोल बडीमालिका मन्दिरमा पुग्न कम्तिमा पनि एक हप्ताको समय लाग्ने जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ । बडिमालिका मन्दिरका लागि अछाम, बाजुरा, बझाङ तथा डोटीबाट वर्षेनी डोल लैजाने चलन रहेको छ ।

सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा रहेको बडिमालिका क्षेत्र धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिबाट प्रचुर सम्भावना बोकेको क्षेत्र भएका कारण जनैपूर्णिमाको समय उक्त मन्दिरमा भक्तजनको निकै घुइँचो लाग्ने गरेको शैलेश्वर क्षेत्र विकास समितिका अध्यक्ष तथा पुजारी प्रेमशङ्कर भट्टले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘भक्तजनले मागेका तथा चिताएको वर मिल्ने भएका कारण पनि बडीमालिका मेलामा वर्षेनी भक्तजनको भिड लाग्छ, यो सुदूरपश्चिमकै पवित्र तीर्थस्थल हो । समुद्री सतहबाट करिब ४ हजार २ सय मिटर उचाइमा रहेको बडीमालिका जान जिल्ला सदरमुकाम सिलगढीबाट एक दिन गाडीको यात्रा तथा दुई दिन पैदलयात्रा गर्नुपर्ने सिलगढीका स्थानीयवासी तेजबहादुर खड्काले जानकारी दिनुभयो ।

सिलगढीबाट डोलको यात्रा शुरू हुँदादेखि नै गाउँलेले बाटोमा पूजाको थाली राखेर तीर्थयात्रीको यात्रा सफल होस् र बडीमालिकाले सबैलाई आशिर्वाद दिऊन् भन्ने कामनासहित ठाउँ–ठाउँमा पानीका घाणा र फूलमालाले स्वागत गर्ने गरेको सरकारी डोल लगेर बडीमालिका जान लाग्नुभएका मालपोत कार्यालय डोटीका कर्मचारी नारद गिरीले बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘तीर्थयात्रीको यात्रा सफल होस् भन्ने कामनासहित ठाउँ–ठाउँमा फूलमाला र पानीका घाणा राखेर स्थानीयले स्वागत गरेका हुन्छन्, फर्किने समयमा हामीले ती घाणाहरूमा बडीमालिकाको प्रसाद राखेर आउछौँ ।

बडीमालिका जाने क्रममा बाटोमा खाने बस्ने व्यवस्था अहिलेसम्म पनि खासै हुन नसकेको भएको पनि उक्त क्षेत्रमा जनैपूर्णिमाको मेलाबाहेक अन्य समयमा कमै मानिस घुम्न जाने गर्छन् । बडीमालिका जाने क्रममा बाटोहरूमा थुप्रै साना मन्दिर, वन्यजन्तु, खोला, झरना आदि देख्न पाइने गरेको बडीमालिका मन्दिरमा गएकाहरू बताउँछन् ।

बडीमालिका जाने क्रममा बाटोमा त्रिवेणीधाम रहेको छ । तीनवटा नदीको संगम रहेको उक्त धाममा अधिकांश तीर्थयात्रीले आफ्ना स्वर्गीय बाबुआमाको श्राद्धसमेत गर्ने गरेको शैलेश्वरीका पुजारी भट्टले बताउनुभयो । उहाँका अनुसार त्रिवेणीधामबाट कम्तिमा पनि ६ घण्टा हिँडेपछि बडीमालिका पुगिन्छ । वर्षमा धेरै समय हिउँ पर्ने र सितिमिती नपग्लिने बडीमालिकामा वर्षेनी जनैपूर्णिमाको समयमा नेपाल र भारतका थुप्रै भक्तजन मेला भर्न आउने गर्छन् ।

प्राकृतिक छटाले भरिपूर्ण बडीमालिका तथा खप्तड क्षेत्रको पर्यटकीय विकासका लागि सरकारले खासै योजना नल्याएको स्थानीयवासी गुनासो रहेको छ । जनैपूर्णिमाको बेला चतुर्दशीको दिन बडीमालिकामा लाग्ने विशेष मेलामा पृथ्वीनारायण शाहकै पालादेखि नै सरकारी स्तरबाट पूजा गर्ने चलन रहेको सिलगढीमा रहेका नेवारी जातीका मानिसहरू बताउँछन् । बडीमालिकामा जनैपूर्णिमाको दिन राति १२ बजेदेखि नै तीर्थयात्री पूजा गर्नका लागि लाम लागेर बस्ने चलन रहेको छ ।

पौराणिक कथाअनुसार महादेवकी पत्नी सतिदेवीका पिता दक्ष प्रजापतिले यज्ञा गर्ने समयमा महादेवले नबोलाएको र सतिदेवीले दक्ष प्रजापतीको यज्ञा स्थलमा गएर पितासित आफ्ना पति महादेवलाई नबोलाएको कारण सोधेपछि दक्ष प्रजापतिले महादेव भाङ, धतुरो खाने, श्मसानमा बास बस्ने, घाँटीमा सर्पको माला लगाउने, जटाधारी भेषमा रहने, शरीरभरी खरानी घस्ने, बाघको छालाको पहिरन गर्ने भएकाले यज्ञमा बस्ने शोभा नभएको हुँदा नबोलाएको उत्तर दिएपछि सतिदेवीले यज्ञकुण्डमा हामफालेको र सतिदेवीको मृत शरीर बोकेर हिँडेका महादेवको काँधबाट सतिदेवीको शरीर त्यहाँ पतन भएकाले त्यसको नाम बडीमालिका राखिएको किंवदन्ती रहेको स्थानीयबासी बताउँछन् ।