विद्यालय बन्द गर्न डीसीसीएमसी निर्देशन


अर्जुन बोहरा, सिमकोट ।

कोरोना भाइरसको संक्रमणको जोखिम बढेपछि तीनवटा गाउँपालिकाले सञ्चालनमा ल्याएको विद्यालय बन्द हुने भएको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले सञ्चालनमा रहेका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

हुम्लाको दक्षिणी भेगका तीनवटा गाउँपालिकाले सञ्चालनमा ल्याएका सामुदायिक विद्यालय पुनःबन्द हुने भएका छन् ।

डीसीसीएमसीको बैठकले कोरोना संक्रमणदर नघटेको निश्कर्ष निकाल्दै सञ्चालनमा आएका ती विद्यालय पुनःबन्द गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिनुभयो ।

जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिकामा सञ्चालनमा आएका विद्यालय पुनः बन्द गर्न मौखिक रूपमा जानकारी दिइएको सहायक प्रमुख जिल्ला अधिकारी राईले जानकारी दिनुभयो ।

आन्तरिक जिल्लाका सिमानाका कारण तेस्रो लहरको संक्रमण देखिन सक्ने जनाउँदै भीडभाड हुने कुनै पनि गतिविधि सञ्चालन नगर्न डीसीसीएमसी बैठकले निर्णय गरेको सहायक प्रजिअ राईले जानकारी दिनुभयो ।

गाउँ–गाउँमा कोरोना संक्रमणका लक्षणसँग मिल्ने बिरामी बढिरहेको अवस्थामा भौतिक उपस्थितिमा विद्यालय सञ्चाल नगर्न नसकिने निष्कर्ष बैठकले निकालेपछि विद्यालय बन्द गर्ने निर्णय भएको हो । चंखेलीमा गत २९ असार, ताँजाकोटमा साउन १५ अदानचुलीमा साउन २० बाट विद्यालय सञ्चालनमा आएको थियो ।