महामारीमा डिजिटल समावेशीकरणको महत्वमा जोड


इन्डिया न्युज नेटवर्क ।

जी–२० मुलुकका मन्त्रीहरू लचिला, बलियो, दिगो र समावेशी पुनरुत्थानका लागि डिजिटल प्रविधिको लाभ लिन सहमत भएका छन् । बिहीबार ट्राइस्टेमा इटालीद्वारा आयोजित जी–२० डिजिटल मन्त्रीहरूको बैठकमा सो सहमतिको घोषणा गरिएको थियो ।

केन्द्रीय इलेक्ट्रोनिक्स र सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले भारतीय प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए । उनले सो बैठकमा भारतमा डिजिटल प्रविधिमा भएको प्रगतिबारे जानकारी साझा गरेका थिए । उनले सन् २०१५ देखि डिजिटल भारतको माध्यमबाट डिजिटल समावेशीकरण र सामाजिक सशक्तीकरण प्राप्त गरेको जानकारी दिएका थिए ।

एक आधिकारिक विज्ञप्तिअनुसार वैष्णवले डिजिटल प्रविधि र आधार तथा प्रत्यक्ष लाभ स्थानान्तरण (डीबीटी) जस्ता सार्वजनिक डिजिटल मञ्चको माध्यमबाट जनताको सशक्तीकरण गरिएकोबारे जानकारी दिएका थिए ।

वैष्णवले अगाडि भनेका छन्– ‘१ अर्ब २९ करोड प्रयोगकर्ताहरूलाई डिजिटल पहिचान आधार प्रदान गरियो, ४३ करोड गरिब जनताको बैंक खाता खोलियो । यी दुवै जोडेर गरी जनताका खातामा प्रत्यक्षरूपमा रकम जम्मा गरियो । यसबाट आर्थिक चुहावटको रोकथाम भएको छ । करिब ९० करोड जनता कुनै न कुनै योजनाको लाभ उठाइरहेका छन् । यस प्रणालीबाट गरिब निमुखा नागरिक सशक्त भएका छन् । विगत ७ वर्षमा २४ अरब अमेरिकी डलर बचत भएको छ ।’

वैष्णवले महामारीको समयमा डिजिटल समावेशीकरणको महत्वमाथि जोड दिएका छन् र भारत डिजिटल प्रविधिको एक बलियो समर्थक रहेको पनि बताएका छन् ।

उनले डिजिटल प्रविधि समावेशीकरणका लागि भएको र विभाजनका लागि यसको प्रयोग हुन नहुने कुरामा जोड दिएका छन् । उनले डिजिटल अर्थव्यवस्था सामाजिक समावेशीकरणका लागि एक महत्वपूर्ण उपकरण भएको दाबी पनि गरेका छन् । उनले जी–२० मञ्चमा डिजिटल प्रविधिमा भारत साझेदारी गर्न चाहेको पनि उल्लेख गरेका छन् । उनले डिजिटल समावेशीकरण र सामाजिक सशक्तीकरणको दिशामा लाग्न जी–२० राष्ट्रलाई आग्रह पनि गरेका छन् ।

त्यसैगरी, इलेक्ट्रोनिक्स र सूचना प्रविधि राज्यमन्त्री राजीव चन्द्रशेखरले डिजिटल भारत कार्यक्रमअन्तर्गत डिजिटल मञ्च र सम्पर्कसहित बलियो र सुरक्षित डिजिटल पूर्वाधार निर्माणका लागि भारतको योजना साझा गरेका छन् ।

उनले आधारको भूमिकामा जोड दिँदै आधार एक अद्वितीय डिजिटल पहिचान प्रणाली भएको बताएका छन् । यसबाट भारतीय नागरिकले कुनै पनि समय, कहींबाट पनि प्रमाणीकरण गर्न तथा समयमै पारदर्शी तरिकाबाट अनुदान, लाभ र सेवा प्राप्त गर्न सक्ने बताएका छन् ।

चन्द्रशेखरका अनुसार कोभिड महामारीको सामना गर्न र यसबाट पुनरुत्थानका लागि प्रायः सबै मुलुकले डिजिटल प्रविधिको प्रयोग गरेका छन् ।

तसर्थ जी–२० सदस्य राष्ट्रले प्रविधिको सही लाभ उठाउन स्वतन्त्र, खुला, पारदर्शी, सुरक्षित र विश्वसनीय इन्टरनेट प्रदान गर्न सहयोग गर्नुपर्नेमा उनले जोड दिएका छन् ।