भारतमा दोश्रो विदेशी खोप अनुमोदित


नयाँदिल्ली, (एजेन्सी) । 

कोरोना महामारीको तेश्रो चरण शुरू हुनसक्ने खतरा बढिरहेका बेला भारतले कोरोना भाइरसविरुद्धको खोप उत्पादनमा तीव्रता दिन थालेको छ । भारतले जोहन्सन एन्ड जोहन्सनको सिंगल डोज खोपलाई आपतकालीन अवस्थामा प्रयोगमा ल्याउन अनुमोदन गरेको छ । यस खोपको ८५ प्रतिशत प्रभावकारी रहेको छ । यसलाई स्वदेशी खोप निर्माता बायोलोजिकल ईमार्फत देशभरि उपलब्ध गराइने भएको छ ।

तर, जोहन्सन एन्ड जोहन्सनले भारतमा यो खोप प्रयोगका लागि कहिले उपलब्ध हुने हो अझै यकिन रूपमा भन्न नसकिने बताएको छ । भारतले अनुमोदित तीनवटा खोप कोभिशिल्ड, कोभ्याक्सिन र रसियाको स्पुतनिक भी. ५० करोड डोजभन्दा बढी वितरण गरिसकेको छ । भारतमा आपतकालीन अवस्थामा प्रयोग गर्न अनुमति पाउने जोहन्सन एन्ड जोहन्सन दोश्रो विदेशमा निर्मित खोप हो ।

यदि, विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) वा संयुक्त राज्य अमेरिका, युरोपेली संघ, संयुक्त अधिराज्य र जापानका नियामक निकायले स्वीकृत गरिएको खण्डमा स्थानीयस्तरमा क्लिनिकल परीक्षण नचाहिने नयाँ नीतिअनुरूप यस खोपले भारतमा वैधानिकता पाएको हो ।