बँदेलको आक्रमणबाट हवल्दार घाइते


बैतडी, (नेस) ।

जंगली बँदेलको आक्रमणबाट बैतडीमा सोमबार एक जना प्रहरी हवल्दार घाइते भएका छन् । घाइते हुनेमा जिल्लाको सुर्नया गाउँपालिका ४ घर भएका प्रहरी हवल्दार राम लुहार रहेका छन् ।

महानगरीय प्रहरी कार्यालय काठमाडौं रानीपोखरीमा कार्यरत रहेका रामको घर बिदामा आएका बेला जंगली बँदेलले आक्रमण गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो ।

आइतबार बिहान साढे ८ बजे घर नजिकैको मकैबारीमा काम गरिरहेका बेला रामलाई बँदेलले आक्रमण गरेको हो । प्रहरी निरीक्षक ओझाले भन्नुभयो– ‘आक्रमणबाट रामको हात र खुट्टामा चोट रहेको छ, जिल्ला अस्पतालमा सामान्य उपचारपछि धनगढी रेफर गरिएको छ’ । आक्रमणबाट घाइते भएका रामको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

केही वर्षयता बैतडीमा जंगली बँदेलले आतंक मच्चाउँदै आएको छ । बँदेलले मकैबाली नष्ट गर्नुका साथै मानिसलाई समेत आक्रमण गर्न थालेपछि समस्या बढ्दै गएको स्थानीयले बताएका छन् । यसअघि यही साउन २० गते बँदेलका लागि थापेको विद्युतीय धरापमा परेर बैतडीको सुर्नया गाउँपालिका ५ का दुई युवकको मृत्यु भएको थियो ।