अवैध लागु औषध चरेशसहित दुई जना पक्राउ


बासुदेव शर्मा, जाजरकोट ।

जाजरकोटमा लागु औषध चरेशसहित दुई जना पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा शान्ति चौतारा बसपार्कबाट आइतबार दिउँसो दुई जनालाई प्रहरीले प्रक्राउ गरेको हो । अवैध लागु औषध चरेशसहित भारतीय नागरिक ३१ वर्षीय मुस्ताबिन अहमद र अर्का नेपाली नागरिक नेपालगन्ज उपमहानगरपालिका ११ का २० वर्षीय उबेद खानलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

जाजरकोटबाट नेपालगन्ज जाँदै गरेको भे १ ज ९०७ नम्वरको भाँडा वाला बोलेरो जीपमा अवैध लागु औषध (चरेश) लिएर गएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भेरी नगरपालिका ४ शान्ति चौतारास्थित ट्राफिक पोष्ट नजिकै चेक जाँच गर्ने क्रममा शङ्कास्पद दुई जना व्यक्ति जीपबाट झरी पैदल हिँडिरहेको अवस्थामा भारतीय नागरिक मुस्ताबिन अहमद र अर्का उबेद खानलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

पक्राउ परेका उनीहरुको शरीर साथमा रहेको झोला चेक जाँच गर्ने क्रममा भारतीय नागरिक मुस्ताविन अहमदले बोकेको झोलाबाट एक किलो चरेश सहित भारतिय ४५ हजार ५ सय रुपैया, एण्ड्रोइड मोबाईल १ थान, आधार कार्ड र नेपाली नागरिक उबेद खानको साथबाट ५ हजार नेपाली रुपैयाँ बरामद गरी प्रहरीले पक्राउ गरेको हो ।

अबैध लागु औषध चरेश लगायत उनीहरुबाट बरामद गरेका सामानसहित जिल्ला प्रहरी कार्यालयमा ल्याएर जिल्ला अदालत जाजरकोटबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।