- सरोज खनाल
टेलिसिरियल भिडदेखि भिडसम्मका निर्देशक आदरणीय गुरुवर उमेशनाथ अर्याल अब हामीबीच हुनुहुन्न । सोमबार राति एक बजे मैतिदेवीस्थित निवासमा हृदयघात भएपछि अस्पताल भर्ना गरिएको गुरुवरको हृदयको शल्यक्रिया भएको दुई दिनपछि बुधबार दिउँसो १२ बजे उहाँले यो धर्ती छोड्नुभयो ।
हृदयको शल्यक्रियापछि गुरु बोल्न सक्ने हुनुभएको थियो। उहाँले भाउजुलाई फोन गरेर मलाई जाउलो बनाएर ल्याइदिनु भन्नु भएको रहेछ। भाउजुको हातको जाउलो खाएको केही समयपछि उहाँले संसार छोड्नुभयो। उहाँको ९८ वर्षकी आमालाई स्वास्थ्यमा समस्या आएपछि चिन्तित हुनु भएको उहाँलाई आमाकै अवस्थाको चिन्ताको कारण हृदयघात भयो।
उहाँको निधनपछि मैले अभिभावक गुमाएको महसुस गरेँ। जुन बेला म नाटकहरू मात्र खेल्थें। त्यो बेला उहाँले मलाई बन्धकमा परेको जीवन नामक टेलिफिल्ममा पहिलो अवसर दिनु भएको थियो। म बागबजारको गल्ली हिँड्दै थिएँ। उहाँले अफिसको झ्यालबाट मलाई देख्नु भएछ र रंगकर्मी सुनील पोखरेललाई भनेर मलाई भेट्न बोलाउनुभयो। उहाँलाई टेलिफिल्मको लागि म जस्तै हिरो चाहिएको रहेछ। उहाँले त्यो सिरियल बन्धकमा परेको जीवनको कथा सुन्नुपर्छ भनेर सोध्नुभयो। म अवसरको खोजीमा थिएँ। मैले पर्दैन भनेँ । उहाँको पनि पहिलो निर्देशन रहेको उक्त टेलिसिरियल खेलेपछि अर्को टेलिसिरियल भिडदेखि भिडसम्ममा काम गरेँ। उक्त टेलिफिल्म निकै लोकप्रिय भयो र मैले ठूलो पर्दाका फिल्मबाट अफर पाउन थालेँ । शायद भिडदेखि भिडसम्ममा नखेलेको भए मैले फिल्म खेल्नका लागि निकै पापड बेल्नु पर्थ्यो । त्यसपछि उहाँसँग आकाश पनि चुप छ जस्ता टेलिफिल्ममा काम गरेँ ।
म फिल्ममा व्यस्त हुन थालेका कारण उहाँसँग काम गर्न समय मिलाउन गाह्रो भयो । अमेरिका जानु भन्दा अघि पिँजडा नामक टेलिफिल्ममा काम गरेँ । पिँजडामा काम गर्ने बेला ‘सरोज तिमी फिल्म खेल्न थालेपछि बिग्रिए छौ । पहिले जस्तो क्यारेक्टरमा मेहनत नै गर्दैैनौ। हतार—हतार काम सकेर अर्को काम कति बेला भ्याऊँ भन्ने भएछौ भन्नुभयो । गुरुवरको त्यो शब्द निकै बिझ्यो। त्यसपछि म अमेरिका गएँ। नेपाल आएको बेला आफन्तलाई भन्दा पहिले गुरुवरलाई नै भेट्न जान्थें। अस्ति गुरुपूर्णिमाको दिन पनि भेट्न गएको थिएँ। अब एउटा फिल्ममा सँगै काम गर्नुपर्छ भनेर सल्लाह भएको थियो, तर कला क्षेत्रमै केही गर्छु भन्दाभन्दै उहाँले हामीलाई छोडेर जानुभयो।
उहाँको आफ्नै हिसाबले काम गर्ने बानी थियो त्यस कारण टेलिफिल्ममा जम्नु भयो। फिल्ममा काम गर्दा प्रोड्युसरको हिसाबमा चल्नुपर्ने भएका कारण पनि उहाँ फिल्म निर्देशनतिर लाग्नु भएन।
उहाँको सुनसान अन्त्येष्टिले मन रोएको छ। आमा र श्रीमतीका साथ बस्दै आउनु भएका गुरुवरको एक छोरी र दुई छोरा अमेरिका र क्यानडामा रहेका तथा दाजुभाइ समेत नभएका कारण शव बोक्ने मानिस समेत नभएपछि आफैँ काँध दिएँ। शव बोक्ने मानिससमेत नभएपछि मान्छे हायर गरेर काम गर्न लागिएको थियो । त्यो मैले सहनै सकिनँ र म आफैं बोक्छु भनेर एकपट्टी मैले बोकेँ र एम्बुलेन्सबाट शव निकाल्नेदेखि अन्त्येष्टिका लागि पशुपति आर्यघाटमा व्यवस्थापन गर्ने जस्ता प्रायःकाम मैले नै गरेँ । भिडदेखि भिडसम्मको निर्देशक गुरुको सुनसानमा अन्त्येष्टि भयो । उहाँको अन्तिम यात्रामा न साथीभाइ न कलाकार नै थिए। ३/४ जनाकलाकार र ५/६ जना आफन्त थिए। विजया गिरी, सुभाष गजुरेल र अरूसहित चार जना मात्र कलाकार थियौँ । त्यो देखेपछि पार्थिव शरीर ब्रम्हनालदेखि चितासम्म लैजान हामीले पनि चार वटा काँधन पाउने त हैन भन्ने लाग्यो ?
प्रस्तुति : रश्मी थापा
प्रतिक्रिया