उद्यमी व्यवसायीको लागत घटाउन मेलमिलाप पद्दति आवश्यक

98
Shares

काठमाडौं, (नेस) ।

नेपाल उद्योग वाणिज्य महासंघले उद्योग व्यवसाय क्षेत्रमा मेलमिलापका लागि आप्mनो भूमिका विस्तार गर्ने भएको छ । महासंघले सदस्य सेवा केन्द्रको स्थापनासँगै मेलमिलाप केन्द्रको सेवा विस्तार गर्ने योजना रहेको अध्यक्ष शेखर गोल्छाले बताउनुभयो । महासंघ र मेलमिलाप परिषद्ले संयुक्त रुपमा आयोजना गरेको उद्योग व्यवसाय क्षेत्रमा मेलमिलाप पद्दति विषयक अन्तक्रियामा अध्यक्ष गोल्छाले उक्त धारणा राख्नु भएको हो ।

मेलमिलाप केन्द्र पहिला महासंघमा स्थापना भएको हो, उहाँले भन्नुभयो–‘अब यसलाई कार्यान्वयनमा लैजान कार्यविधि बनिरहेको छ ।’ उक्त कार्यक्रममा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपककुमार कार्कीले उद्यमी व्यवसायीको लागत घटाउन मेलमिलाप पद्दतिको अवलम्वन र विस्तार आवश्यक रहेको बताउनुभयो । महासंघले यसको नेतृत्व गर्न सक्छ, उहाँले भन्नुभयो । सर्वोच्च अदालतका रजिस्ट्रार नारायणप्रसाद पन्थीले मेलमिलाप केन्द्रको स्थापना र विकासमा सहयोग पुर्‍याउने बताउनुभयो । कानुन मन्त्रालयका सचिव उदय सापकोटाले मेलमिलापसम्बन्धी विज्ञको अभाव रहेकाले यसको उत्पादनमा पनि निजी क्षेत्रले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।

उक्त कार्यक्रममा पूर्व न्यायाधीश विनोद शर्माले सिंगापुर अभिसन्धी र यसलाई नेपालले अपनाउँदा हुने फाइदाबारे जानकारी गराउनु भएको थियो । अर्का कार्यपत्र प्रस्तोता भद्रकाली पोखरेलले मेलमिलाप पद्दतिलाई कार्यालय तहमा पनि विस्तार गर्न सकिने बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुद्दामा धेरै समय लाग्ने गरेको सन्दर्भमा मेलमिलाप केन्द्रबाट समाधान खोज्न सकिने बताउनुभयो । धेरै समय र लागत लागिरहेको सन्दर्भमा महासंघको मेलमिलाप केन्द्रबाट सेवा दिन सक्छौ, उहाँले भन्नुभयो ।