उपभोक्ता र उद्यमीमैत्री ऊर्जा नीति ल्याउनुपर्नेमा जोड

322
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

ऊर्जा क्षेत्रका विज्ञ तथा व्यवसायीहरुले राज्यको नीति तथा योजना उपभोक्ता र उद्यमीमैत्री हुनुपर्नेमा जोड दिएका छन् । नेपाल नवीकरणीय ऊर्जा परिसंघले आयोजना गरेको ओविनारमा सहभागीहरूले उक्त विषयमा जोड दिएका हुन् ।

कार्यक्रममा विद्युत् नियमन आयोगका सदस्य डा. रामप्रसाद धितालले ऊर्जा उत्पादनका साथै वितरण प्रक्रिया उपभोक्तामैत्री हुनुपर्ने र उपभोक्ताको खपतमा आधारत व्यवहारिक मूल्य समायोजन गर्नुपर्ने र उत्पादन र प्रसारणका लागि लागत कम गर्न उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै राष्ट्रिय योजना आयोगका पूर्वसदस्य प्राडा गोविन्द नेपालले राज्यले लिने नीति दूरगामी हुनुपर्ने र ऊर्जाको माध्यमबाट समग्र अर्थतन्त्रलाई सहयोग पुग्ने हुनुपर्छ भन्ने धारणा व्यक्त गर्नुभयो । साथै पूर्वमन्त्री गणेश साह, डा. कमल रिजाल, स्वतन्त्र विद्युत् उत्पादक संघका अध्यक्ष कृष्णप्रसाद आचार्य, ऊर्जा उद्यमी गुरु न्यौपाने, ऊर्जा विज्ञ एवम् व्यवसायी सुरेन्द्रभक्त माथेमा, प्राडा रमेशकुमार मास्के, डा. रञ्जनकुमार दहाल, डा. केशवराज अधिकारी, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका निर्देशक डा. नारायण अधिकारीलगायतले विद्युत् विकासका चुनौती र अवसरका विषयमा विचार व्यक्त गर्नुभएको थियो ।

सरकारी तथ्यांकले मुलुकका ९३ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण जोडिएका छन् देखिन्छ । तर, त्यसमध्ये कतिले बिजुलीमा खाना पकाउने सुविधा पाएका छन् र कतिले बत्तीमात्र बाल्ने सुविधा पाएका छन् भन्ने स्पष्ट जानकारीको भने अभाव रहेको कार्यक्रममा औंल्याइएके थियो । सरकारी तहबाट औद्योगिक, यातायात र ग्राहस्थ क्षेत्रमा विद्युत् सेवाको खपत बढाउन उद्योगलाई विद्युत् सुविधा वृद्धि गर्न, विद्युतीय यातायात प्रवद्र्धन गर्न र विद्युतीय चुल्हो प्रवद्र्धन गर्ने गरी नीति निर्माण गर्नुपर्ने धारणा उनीहरूको छ ।

उक्त अवसरमा परिसंघका अध्यक्ष गुणराज ढकालले उपयुक्तताको आधारमा नवीकरणीय ऊर्जा प्रविधि परिचालन गर्दै अर्थतन्त्र उकास्न सरकार, निजी क्षेत्र, प्राज्ञिक क्षेत्र र अरु सरोकारवाला एकजुट भई उपभोक्तालाई सहज र सुपथ तरिकाले विद्युत् सुविधा दिनुपर्ने आवश्यतामा जोड दिनुभयो ।