महानगरपालिकाद्वारा सम्पत्ति कर नबुझाउने ठूला करदाताको नाम फेरि सार्वजनिक

6.11k
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदाताको नाम सार्वजनिक गरेको छ । कामपा राजस्व विभागले लामो समयदेखि वडामार्फत् भएको ताकेतालाई अटेर गरेका कारण ३० दिने म्यादसहित नाम सार्वजनिक गर्नुपरेको हो ।

विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार नाम सार्वजनिक गरिएका करदाताले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्ने लगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिनेछ । उहाँका अनुसार यस अघि असार १६ गते नाम सार्वजनिक गरिएका करदातामध्ये धेरै सम्पर्कमा आएका छन् । केहीले पहिलो किस्तावापत कर बुझाएका छन् । केहीले विवरण बुझाएका छन् । सम्पर्कमा आउनेले समय माग गरेर कर तिर्न मञ्जुर गरेकाले मौका दिइएको छ । तीमध्ये केही सम्पर्कमा आएका छैनन् ।

अहिले विभाग ती करदाताको सेवा बन्द गर्ने तयारी गरिरहेको छ । नाम सार्वजनिक गरिएकालाई लिखित मौखिक सूचना गरिएको छ । सार्वजनिक सूचना जारी गरिएको छ । दिइएको समय सकिने बेला कार्यस्थलमा गएर माइकिङ गरिएको छ । हामी करदाताको सहजताका लागि काम गरिरहेका छौं । यसरी काम गर्दा पनि अटेर गर्नेमाथि कानुनी कारबाही चलाउनुबाहेक विकल्प छैन । अधिकारी भन्नुहुन्छ ।

उहाँले हाम्रा अनुरोध र सूचनाको अटेर गर्नेहरुको घर, पसल र व्यवसायमा शिलबन्दी गरेर सरकारी बाँकी सरह राजस्व असुली गर्नुको विकल्प नभएको चेतावनी दिनुभयो । विभागले सार्वजनिक गरेको सूचीमा जय नेपाल हल, इम्पेरियल अपार्टमेन्ट, कान्तिपुर होटल, होटल ग्याङजोङ (हाल ले हिमालय), सिटी होटल्स शुभकामना हाउजिङ डेभलर्पस, ओम सान इन्टरनेशनल कलेज(हेल्पिङ ह्यान्डस), गोपीकृष्ण मुभिज प्रालि, काठमाडौं जेसिस, खाद्य संस्थान, सिग्नेचर अपार्टमेन्ट, अम्बे कम्प्लेक्स रहेका छन् ।

त्यस्तै टाउन डेभलपर्स प्रालि, ब्लु बर्ड इन्भेष्टमेन्ट, होटल प्लाटिनियम, बुद्ध मल, सिद्धार्थ बनस्थली स्कुल, जनमैत्री अस्पताल, ब्याट्री कारखाना, होटल मस्र्याङ्दी, ह्वाईट फिल स्कूल, आदर्श नगर बिजनेस प्रालि, रञ्जना ट्रेड सेन्टर, केशा प्रोपर्टिज प्रालि, वैशाली होटल प्रालि, नेपाल स्काउट, साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर भवन, कर्मचारी संचयकोष भवन, नेपाल रेडक्रस सोसाइटी, नेपाल विद्युत प्राधिकरण, नेसनल ट्रेडिङ, नेपाली जामे मस्जिद, मैतीदेवी प्लाजा, केएल टावर, एपोलो प्रालि, सिटी सेन्टर, वरुण वेभरेज प्रालि, रिद्धिसिद्धि डेभलपर्स रहेका छन् ।