नीति तथा कार्यक्रममा ऊर्जा प्राथमिकतामा

84
Shares

काठमाडौं, (नेस) ।

सरकारले आइतबार जारी गरेको नीति तथा कार्यक्रममा ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै आन्तरिक लगानीबाटै मझौला, ठूला तथा जलाशयुक्त आयोजना निर्माण गर्ने र निर्यातमूलक आयोजनामा विदेशी लगानी आकर्षित गर्ने योजना अघि सारेको छ । मुलुकको ऊर्जा सुरक्षाका लागि जलाशयुक्त आयोजना नै उत्तम र अपरिहार्य विकल्प रहेको सरकारको निचोड छ ।

नीति तथा कार्यक्रममा प्रदेश नम्बर २ बाहेक हरेक प्रदेशमा एक/एक वटा जलाशयुक्त आयोजना निर्माणको प्रक्रिया शुरू गर्ने, बूढीगण्डकी जलविद्युत् आयोजनालाई अगाडि बढाउने सरकारको योजना रहेको छ । त्यस्तै प्रसारण लाइनको क्षमता विस्तार गर्ने, विद्युत् खपत बढाउन औद्योगिक क्षेत्र र घरायसी क्षेत्रमा विद्युतीय उपकरणमा सहुलियत दिने, गरिब तथा विपन्न वर्गलाई २० युनिटसम्म विद्युत् निःशुल्क दिने जस्ता विषयलाई प्राथमिकताका साथ ल्याइएको छ ।