शौचालय जानेलाई केरा ख्वाइने


उल्सान, (एजेन्सी) ।

दक्षिण कोरियाको एउटा विश्वविद्यालयमा दिसा गर्न शौचालय प्रयोग गर्ने व्यक्तिलाई प्रोत्साहनस्वरूप कफी वा केरा किनेर खान पैसा दिने अनौठो व्यवस्था गरिएको छ । त्यहँँ मानव मलबाट इन्धन उत्पादन गर्ने गरिएको छ ।

उल्सान नेसनल इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी (युनिस्ट) का शहरी तथा वातावरणीय इन्जिनियरिङ विभागका प्राध्यापक चो जाय–वेयनले दिसा प्रयोग गरेर बायोग्यास र मल उत्पादन गर्ने प्रयोगशालासँग जोडिएको वातावरणमैत्री शौचालय डिजाइन गरेका छन् ।

माहुरी र परिकल्पनाजस्ता शब्दको मिश्रणबाट ‘बिभी’ नाम दिइएको उक्त शौचालयमा पानीको प्रयोग कम हुनेगरी एउटा भ्याक्युम्म पम्प प्रयोग गरी दिसालाई भूमिगत टैंकमा पठाउने गरिएको छ । त्यहाँ सूक्ष्म जीवाणुहरूले दिसालाई टुक्राएर मिथेन ग्यास उत्पन्न गराइदिन्छ । सो ग्यास खाना पकाउन र अन्य घरायसी काममा प्रयोग गर्न सकिन्छ ।

चो भन्छन्– ‘मैले दिसाको महत्व बुझेर त्यसलाई पर्यावरणीय चक्रमा राखिदिएको हुँ । औसतमा एक व्यक्तिले दिनमा ५ सय ग्राम दिसा गर्दछन् । यसबाट ५० लिटर मिथेन उत्पादन गर्न सकिन्छ । यस ग्यासबाट ० दशमलव ५ किलोवाट विद्युत् उत्पादन गर्न र त्यसलाई एउटा कारलाई करिब १ दशमलव २ किलो मिटर गुडाउन सकिन्छ ।’

चोले ‘जिगुल’ नामक भर्चुअल मुद्रा पनि तयार पारेका छन् । वातावरणमैत्री शौचालय प्रयोग गरेर एक व्यक्तिले दिनको १० जिगुल कमाउन सक्छन् । कोरियाली भाषामा जिगुलको अर्थ ‘मह’ हुन्छ ।