क्युवामा साना र मझौला निजी व्यवसाय खोल्ने अनुमति


हवाना, (एजेन्सी) ।

गत महिना भएको सरकारविरोधी बृहत् प्रदर्शनपछि क्युवाको कम्युनिस्ट सरकारले साना तथा मझौला आकारका निजी व्यापार व्यवसायलाई कानुनी मान्यता प्रदान गरेको छ । अब नयाँ कानुनअनुसार एक सय जनासम्म कर्मचारी भएको उद्योग व्यवसाय निजीस्तरमा सञ्चालन गर्न पाउने भएको छ ।

क्युवाली राष्ट्रपति मिगेल डियाज क्यानलले क्युवाले आफ्नो अर्थतन्त्रलाई अद्यावधिक गर्नका लागि ठोस कदम चालेको बताएका छन् । राजनीतिक विश्लेषकहरूले गत जुलाईमा भएको जनप्रदर्शनका कारण सरकार यस्तो योजना र नीति ल्याउन तत्पर भएको अनुमान गरेका छन् । आर्थिक असफलताविरुद्ध भएको सो प्रदर्शनमा हजारौं मानिसको सहभागिता रहेको थियो ।

त्यतिबेला प्रदर्शनकारीहरूले सरकारले कोरोना भाइरस महामारी नियन्त्रण तथा रोकथामका लागि चालेका कदमको समेत आलोचना गर्नुका साथै राजनीतिक परिवर्तनको माग गरेका थिए ।

उक्त राजनीतिक अस्थिरताको दौरानमा राष्ट्रव्यापी दर्जनौं व्यक्ति पक्राउ पर्नुका साथै कम्तिमा एकजना प्रदर्शनकारीको ज्यान गएको थियो ।

शुक्रबार गरिएको यो ऐतिहासिक निर्णयले टापुराष्ट्र क्युवामा सरकारी नीतिमा अत्यन्तै ठूलो परिवर्तन आएको देखिएको छ । त्यहाँ यसअघिसम्म सरकारद्वारा सञ्चालित कम्पनीहरू मात्र अस्तित्वमा रहेका थिए ।

महामारीका बेला गम्भीर आर्थिक समस्या देखिएपछि विरोध प्रदर्शन भएको थियो । जुलाईमा सरकारी निकायहरूले क्युवामा आउने विदेशी पर्यटकहरूलाई बिना कुनै कर आफ्नो साथमा खाद्यान्न, औषधि र अन्य अत्यावश्यक वस्तु ल्याउने अनुमति दिने घोषणा गरेका थिए ।

लामो समय क्युवाको वागडोर नेता फिडेल क्यास्ट्रोले सम्हालेका थिए । क्युवाको अमेरिकासँगको सम्बन्ध पनि धेरै वर्षसम्म चिसिएको थियो । तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको कार्यकालमा अमेरिका र क्युवाबीचको कुटनीतिक सम्बन्ध पुनः सुचारु गरिएको थियो ।