जोरायललाई स्वास्थ्य सामग्री

14
Shares

डोटी, (नेस)  ।

डोटीको जोरायल गाउँपालिकामा कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गैरसरकारी संस्था युनाइटेड मिसन टु नेपालले स्वास्थ्य सामग्री प्रदान गरेको छ । उक्त संस्थाले ६ लाख १२ हजार ३ सय ७ रुपियाँको स्वास्थ्य सामग्री शनिबार हस्तान्तरण गरेको हो ।

संस्थाले प्रदान गरेका स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क, स्यानीटाइजर, ग्लोब्स, डस्टबिन, अक्सिजन सिलिन्डर, कन्सनटेटरलगायतका स्वास्थ्य सामग्री रहेको गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले जानकारी दिनुभयो ।

‘गाउँपालिकामा कोरोना जोखिम कायमै रहेका बेला युनाइटेड मिसन टु नेपालले स्वास्थ्य सामग्री प्रदान गरेकाले कोरोना रोकथाम तथा नियन्त्रणमा सहज हुने गाउँपालिका उपाध्यक्ष जमुना बोहराले बताउनुभयो । गाउँपालिकामा कोरोना जोखिम रोकथाम तथा नियन्त्रणका लागि आफूहरुले उक्त स्वास्थ्य सामग्री प्रदान गरेको युनाइटेड मिसन टु नेपालका कर्मचारी हेमराज जोशीले बताउनुहुन्छ । जिल्लाका अन्य स्थानीय तहमा पनि आवश्यक परेको समयमा स्वास्थ्य सामग्री प्रदान गर्ने तयारी भइरहेको उहाँको भनाइ छ ।

स्वास्थ्य सामग्री उपलब्ध भएकाले स्वास्थ्य जाँचलगायत कोरोना रोकथामका लागि निकै सहज हुने गाउँपालिकाका स्वास्थ्य संयोजक गोविन्द विष्टले बताउनुभयो । संस्थाले वितरण गरेका स्वास्थ्य सामग्री पालिकाका ६ वटै स्वास्थ्य संस्थामा वितरण गरिने स्वास्थ्य उहाँले जानकारी दिनुभयो ।